सुरज र विनिता अभिनीत चलचित्र ‘पीआर’को ट्रेलर रिलिज

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘पीआर’को ट्रेलर रिलिज भएको छ । मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ट्रेलर रिलिज गरेको हो ।

ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुको कथालाई भनिएको छ । ऋण खोजेर अष्ट्रेलिया पुगेका युवाहरुको सपना पीआर लिने हुन्छ। तर यता नेपालबाट ऋणमा पठाएको छोराले पैसा पठाउन नसक्दा र उताको परिस्थिति बुझ्न नसक्दाको अवस्थालाई निर्देशक बस्नेतले पर्दामा उतारेका छन् ।

लभस्टोरी, बिछोड तथा आफ्नो देश आफ्नै भन्ने सन्देश चलचित्रले दिनेछ ।

यही मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुन लागेको यस फिल्मको प्रचारका लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका आर ए सुरज पौडेल, विनिता कार्की नेपाल आएका छन् ।

उनीहरुको मुख्य भूमिका रहेको चलचित्रमा राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन् ।

सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेको यस फिल्मलाई सम्पादन बन्दे प्रसादले गरेका छन् । गणेश बुढाथोकीको लेखन रहेको चलचित्रमा गीतमा मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको गायनलाई सुन्न सकिनेछ ।

आरआर फिल्म्सले सिनेमा वितरण गर्दैछ ।