‘परिवर्तन’को दोस्रो पोस्टरमा सात मुख्य कलाकार
काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परिवर्तन’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ ।
निर्माण टिमले बुधबार सार्वजनिक गरेको पोस्टरमा सात मुख्य कलाकारलाई आफ्नै–आफ्नै क्यारेक्टर प्रस्तुत गरिएको छ ।
दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको चलचित्रको पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाइएको छ । घाइते अवस्थामासमेत उनी लडाइँको मैदानमा दुश्मनमाथि बन्दुक तानेर उभिरहेका छन्, जसले उनको पात्र परिवर्तनका लागि सर्वस्व झोक्न तयार रहेको संकेत गर्छ ।
अभिनेत्री अञ्जना बराईली यस पटक प्रहरी इन्स्पेक्टरका भूमिकामा देखिएकी छन् । उनको कडा नजरले अपराध अनुसन्धानमा जिम्मेवारी र न्यायप्रतिको प्रतिवद्धता झल्काउँछ । त्यस्तै, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि क्यारेक्टर लुक्समै पोस्टरमा उतारिएको छ।
पोस्टरले विशेषगरी अञ्जनालाई दर्शकले यसअघि नदेखेको फरक अवतारमा पाउने स्पष्ट संकेत दिएको छ । एक्सन–सस्पेन्स जनरामा निर्माण गरिएको फिल्मको वास्तविक कथा भने टिजर, ट्रेलर र फिल्म नै हेरेपछि मात्रै पत्ता लगाउन सकिने निर्माण पक्षको भनाइ छ ।
विजय केरुङले निर्देशन गरेकोयो चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे र बुद्धि तामाङलगायत कलाकार प्रमुख भूमिकामा छन् ।
दीपक सिवाकोटीको कथा तथा निर्माणमा तयार भएको यो चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
शिव ढकालको डिओपी र बन्दे प्रसादको सम्पादन रहेको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्धन्द्व निर्देशन रहेको छ ।
‘परिवर्तन’लाई नेपालभर आर.आर. फिल्म्सले वितरण गर्दैछ ।



