‘मिरमिरे’को पात्र भाव झल्काउने पोस्टरमा के छ ?
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मिरमिरे’काे नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
आगामी माघ १ गते (माघे संक्रान्ति) को दिन देशभर प्रदर्शनमा आउने पक्का भएको यो चलचित्रको निर्माण टिमले बुधबार पात्रहरुको भाव झल्काउने नयाँ पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरले चलचित्र मौलिक नेपाली गाउँले परिवेश र सामाजिक विषयवस्तुमा आधारित रहेको संकेत गरेको छ । पोस्टरको केन्द्रमा सुपरस्टार दयाहाङ राईलाई चेक सर्ट लगाएर एक सानी नानीलाई पिठ्युँमा बोकेको गम्भीर मुद्रामा देखाइएको छ । यो दृश्यले चलचित्रमा दयाहाङले एक जिम्मेवार अभिभावक वा बाबुको भूमिका निर्वाह गरेको र कथामा बाबु-छोरीको भावनात्मक सम्बन्ध मुख्य पाटो रहेको संकेत गर्छ ।
चलचित्रको अर्को मुख्य आकर्षणका रूपमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत रहेका छन् । पोस्टरमा उनी निलो सर्टमा देखिएका छन् । त्यस्तै, अभिनेत्री सृजना निङ्लेकुलाई हातमा किताब लिएर माथितिर हेरिरहेको आशावादी मुद्रामा देखाइएको छ, जसले चलचित्रमा उनी शिक्षिका हुन् की भन्ने संकेत गर्छ ।
यस्तै पोस्टरमा कलाकार माओत्से गुरुङलाई ढाका टोपी लगाएको हँसिलो मुद्रामा देख्न सकिन्छ भने बाल कलाकार साइसा गौचन पनि पोस्टरमा अटाएकी छन् । पृष्ठभूमिमा देखिएका हरियाली डाँडाकाँडा र तल्लो भागमा रातो झोला बोकेर एक्लै बसेकी बालिका तथा खेतबारीमा हिँड्दै गरेका पात्रहरूले चलचित्रले गाउँको अर्गानिक कथा भन्ने पुष्टि गर्छ ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
‘मिरामिर’ नामले बिहानीको समय वा नयाँ आशाको संकेत गर्ने हुनाले, यो चलचित्रले संघर्षपछिको आशा र सम्बन्धहरूको कथा पेस गर्ने अपेक्षा गरिएको छ ।
दयाहाङ राई र प्रकाश सपूतजस्ता दर्शकका प्रिय कलाकारहरू एकसाथ पर्दामा देखिने भएपछि चलचित्रप्रति दर्शकको उत्सुकता बढ्ने देखिन्छ ।
चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ ।



