चार महिनामा बन्ने भए २ अर्ब १० करोडका सिनेमा

काठमाडौं । यो वर्षको पहिलो चौमासिकमा ७० चलचित्रले निर्माण इजाजत लिएका छन् । साउनदेखि कात्तिकसम्मको चार महिनामा ७० वटा चलचित्रले निर्माणका लागि इजाजत लिएका हुन् । यो पहिलो चौमासिक अवधीमा दर्ता हुने सिनेमाको ऐतिहासिक संख्या हो ।

यदि, यी दर्ताका लागि इजाजत लिएका सबै सिनेमा बन्ने हो भने चलचित्रमा ठूलो परिमाणमा लगानी हुनेछ ।

पछिल्लो समय चलचित्र निर्माण महंगो भएको छ । बजार जति मंहगो हुँदैछ त्यही अनुपातमा चलचित्र निर्माण पनि महंगो भएको छ । अहिले एउटा सामान्य चलचित्रको बजेट न्यूनतम २ देखि ३ करोड रुपैयाँ हुने गरेको निर्माताहरूले बताउँदै आएका छन् ।

तर, बढीमा भने जतिसुकै बजेट हुनसक्छ । जस्तै गत वर्ष रिलिज भएको ‘साम्बाला’ १९ करोडभन्दा माथि लगानीमा बनेको थियो । ५ देखि ६ करोड लगानीमा त थुप्रै चलचित्र बन्न त थालिसकेका छन् । ५ देखि ६ करोडमा बनेका चलचित्रको नाम लिने हो भने ‘पिताम्बर’, ‘जेरी अन टप’लगायत हुन् ।

यदि, औसतमा एउटा चलचित्र निर्माणको बजेट ३ करोड रुपैयाँ राख्ने हो भने ७० वटा चलचित्र बनाउन दुई अर्ब १० करोड रुपैयाँ लाग्नेछ । अथवा चार महिनामा दुई अर्ब १० करोड रुपैयाँ बजेट बराबरको चलचित्र निर्माणको प्रतिबद्धता आएको छ ।

यो अहिलेसम्मकै धेरै हो । किन भने पछिल्लो पाँच वर्षमा २०७८/७९मा ३६, २०७९/८० मा ४७, २०८०/८१ मा ४७ र २०८१/८२ मा ५१ वटा चलचित्र निर्माणका लागि दर्ता भएका थिए ।

तर, दर्ता भएको सबै चलचित्र बन्छन् भन्ने निश्चित हुँदैन । केही चलचित्र तोकिएको समयभन्दा पछि र केही नबन्ने पनि हुन्छन् ।