नर्सिङ सुन्दरीको खोजी सुरु
काठमाडौं । नर्सहरुको लिडरसिपको विकास गर्दै उनीहरुको व्यक्तित्व निखार्ने उद्देश्यका साथ ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ ।
आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसनबारे जानकारी दिएको हो । केही अगाडिदेखि आवेदन खुल्ला भएको प्रतियोगीताको छनौट चरणको अडिसन डिसेम्बर २० गतेबाट हुनेछ ।
एनक्लेकेस् नेपाल मुख्य प्रयोजक रहेका प्रतियोगीतामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् । प्रतियोगीताको आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ । अडिसनको समय र भेन्यु भने केही दिनपछि जानकारी दिए आयोजकले जनाएको छ ।
प्रतियोगिताका शीर्ष विजेताले नगद एक लाख, थाइल्याण्डमा २०२६ मा आयोजना हुने ‘मिस ग्लोबल’, चीनमा हुने ‘मिस वल्र्ड पिस’ र भियतनाममा आयोजना हुने ‘मिस प्लानेट इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्नुका साथै ५ लाख बराबरको विभिन्न उपहारसमेत जित्न सक्नेछन् ।
‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुँदै आएको यो नर्सहरु समभागी हुने स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो ।
प्रतियोगितामा देशभरका नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई विभिन्न प्रशिक्षण दिएर अन्तिम चरणका लागि तयार पारिनेछ ।



