रेखा थापाको नक्कल गर्दागर्दै अभिनेत्री भएकी बिनिता, सुरज भन्छन्– मेरै कथाजस्तै छ ‘पीआर’

काठमाडौं । विदेशमा बसेर पनि नेपाली फिल्ममा अभिनय गरेकी कलाकार हुन् बिनिता कार्की । उनी मोडलिङ गर्दै नेपाली फिल्ममा प्रवेश गरेकी हुन् । यहि मंसिर २६ गतेबाट अलनेपाल फिल्म ‘पीआर’ हलमा लाग्दैछ ।

यसको प्रचारप्रसारका लागि उनी नेपाल आइपुगेकी छन् । उनका अनुसार अष्ट्रेलिया पुगेको नेपाली युवाको कथालाई फिल्मले बोल्ने छ ।

सानो छँदा सुपरस्टार रेखा थापा, झरना थापा, निरुता सिंहको अभिनय र डान्स हेरेर हुकिएकी उनको सपना अभिनेत्री बन्ने थियो ।

अहिले शोभित बस्नेतको फिल्म ‘पीआर’मा मुख्य भूमिकामा अभिनय गर्न पाउँदा उनी खुसी छिन् । उनी यो फिल्म सफल भए नेपालमा नै बसेर अभिनय यात्रालाई अगाडी बढाउने सोचमा छिन् ।

“फिल्ममा काम गर्ने मेरो पनि एउटा सपना थियो । नेपालमा नै केही गर्छु भन्दा भन्दै परदेशिएँ । परदेशिए पनि उतै केही गर्छु भन्ने भएको थियो । अभिनेत्री बन्छु भन्ने सपना ममा बाँकी नै थियो। त्यो पीआरबाट सुरुवात भएको छ,” उनले भनिन्, “सानोमा म रेखा थापा, निरुता सिंह, झरना थापाले फिल्ममा नाचेको टिभीमा देख्थेँ । त्यो देखेपछि म पनि उहाँहरुको जस्तै नाच्नका लागि ट्राइ गर्थें। उहाँहरुले फिल्ममा गरेको अभिनय घरको ऐना हेरेर गर्थें । त्यसले पनि मलाई अभिनयका लागि प्रेरित गरेको थियो ।”

‘शोभित बस्नेतको निर्देशनमा बनेको यो चलचित्रको नायकमा छन्, सुरज पौडेल । अष्ट्रेलियामा अध्ययन र मोडलिङ गर्दै आएका सुरजले फिल्म ‘पीआर’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् ।

अडिसन पछि शोभितले स्क्रिप्ट पढिसकेपछि फिल्म गर्न सक्छु भन्ने आत्मविश्वास आउनेछ भनेको उनले सम्झिए ।

“स्क्रिप्ट पढेपछि कथाको ९९ प्रतिशत भाग मेरो आफ्नै जीवनजस्तै लाग्यो,” उनले भने, “अष्ट्रेलियामा सुरुका दिनमा युवाले भोग्ने चुनौतीहरू नै कथामा भेटेँ।”

स्क्रिप्टमा अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक कथा रहेको उनले बताए ।

‘पीआर’ पछि पनि दर्शकले आफूलाई अन्य फिल्महरूमा देख्न पाउने उनले जानकारी दिए ।