चलचित्र ‘आ बाट आमा’को मर्मस्पर्शी टिजर सार्वजनिक

काठमाडौं । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘आ बाट आमा’ को टिजर सार्वजनिक गरिएको छ ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रको मिनेट ४९ सेकेन्ड लामो टिजरले दर्शकको मन छुने प्रयास गरेको छ ।

सार्वजनिक यो टिजर निकै मर्मस्पर्शी र पारिवारिक कथामा आधारित देखिन्छ । जसमा वैदेशिक रोजगारीको पीडा र पारिवारिक विछोडलाई मुख्य विषय बनाइएको देखिन्छ ।

टिजरमा अभिनेता पल शाहलाई परदेसिनका लागि तयार भएको छोराको भूमिकामा देखाइएको छ, जसको सिरानीमा ‘हरियो राहदानी’ देख्न सकिन्छ ।

छोरा घर छोडेर जाने अन्तिम रातमा बुबा-आमाको मनमा चलेको आँधी र उनीहरूको आँसुलाई टिजरमा निकै सशक्त ढंगले प्रस्तुत गरिएको छ । आमा-बुबाको भूमिकामा रहेका भारतीय अभिनेता प्रदीप रावत र अभिनेत्री विपना थापाको छोरा विदेश नगइदियोस् भन्ने चित्कारसँगै पृष्ठभूमिमा बज्ने “जाँदै छु नौ डाँडा काटेर…” बोलको गीतले दृश्यलाई अझ भावुक बनाएको छ ।

यो चलचित्रमा पल, प्रदीप र सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली लगायतको भूमिका रहेको छ । साथै बालकलाकारमा समाइरा थापा र शान अधिकारी अभिनय गरेका छन् ।

चलचित्रको कथा, पटकथा निर्देशक पन्तकै रहेको छ भने अभिमन्यू निरवीले लेखेका हुन् । संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् ।

आर्य इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले लगानी गरेका छन् । कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन् ।

यस चलचित्रमा नवराज उप्रेतीको छायांकन, गम्भीर बिष्ट र दिलिप ओखडाको कोरियोग्राफी साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।