‘पीआर’को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘पीआर’ को टाइटल गीत सार्वजनिक गरिएको छ ।

यही शुक्रबारबाट रिलिज हुन लागेको शोभित बस्नेत निर्देशित सिनेमाको मंगलवार ‘पीआर को चक्करले’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा मानस राजको संगीत, मानस राज र समिक्षा अधिकारीको स्वर, र शोभित बस्नेतको कोरियोग्राफी समावेश छ । सार्वजनिक गीतको भिडियोमा सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ ।

चलचित्रले विदेश जाने नेपाली युवाको सपना, चुनौती र सामाजिक यथार्थलाई कथाको मूल आधार बनाएको निर्माण पक्षले जनाएको छ ।

गीत सार्वजनिक भएपछि निर्देशक शोभित बस्नेतले फिल्मले रोमान्स, एक्सन र सामाजिक सन्देशको प्रभावकारी मिश्रण दर्शकले पाउने विश्वास व्यक्त गरेका छन् ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रमा सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् ।
त्यसैगरी, नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की विशेष भूमिकामा देखिनेछन् ।

प्रेम, संघर्ष र आप्रवासनलाई केन्द्रमा राखेर तयार गरिएको ‘पीआर’ का निर्माता रञ्जित साह र सन्तोष तिवारी हुन् ।

चलचित्रको सम्पादन बन्दे प्रसाद, लेखन गणेश बुढाथोकी, र छायांकन सौरभ सायमी तथा सौरभ लामाले गरेका हुन् ।