भ्यानिटी भ्यान किन्दै छन् विपीन कार्की ?
काठमाडौं । केही दिन अगाडि नायिका नीति शाहले मन्त्रीका अगाडि भ्यानिटी भ्यान आवश्यक रहेको बताउँदा उनी ट्रोलको सिकार बनिन् । उनको मुख्य गुनासो थियो– आउट डोर सुटिङ हुँदा ड्रेस चेन्ज गर्न समस्या हुन्छ ।
छायांकन हेर्न आउने दर्शक र टिममा रहेकाहरूको ठूलो संख्याका बीचमा महिला कलाकारलाई ड्रेस चेन्ज गर्न समस्या हुने गरेको उनको भनाइ थियो ।
नीति भन्दा अगाडि अभिनेता प्रदीप खड्काले पनि यो विषयमा आफ्नो विचार राखेका थिए । चलचित्र ‘एक्टर’को सुटिङमा भ्यानिटी भ्यान प्रयोग भएको विषयमा प्रदीपले आउट डोर सुटिङमा कलाकारले ड्रेस चेन्ज गर्दा होटेल र व्यक्तिका घरका बाथरुम खोज्दै हिँड्नु पर्ने समस्या रहेको बताएका थिए ।
त्यही कुरा नीतिले सञ्चार मन्त्री र मन्त्रालयका कर्मचारीबीच राख्दा उनलाई ट्रोल गरिएको थियो । मन्त्रीले पनि यो सरकारभन्दा पनि निजी तवरबाटै गरिने काम भएको बताएका थिए ।
तर, सोही कार्यक्रममा रहेका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले भने भ्यानिटी भ्यान निजी तवरबाटै सञ्चालनमा आउन लागेको जानकारी दिएका थिए । उनले अभिनेता विपीन कार्कीले भ्यानिटी भ्यान खरिद गरेर सञ्चालनमा ल्याउन लागेको जानकारी दिएका थिए ।
तर, यसबारे बोर्डले जानकारी चुहाए पनि विपीन स्वयंले भने यसबारे हालसम्म केही पनि बोलेका छैनन् । यदि, उनले भ्यानिटी भ्यान ल्याएको खण्डमा पैसा तिर्न सक्ने निर्माण टिमले भने भ्यानिटी भ्यानको सुविधा लिन सक्नेछन् । दैनिक भाडा तिरेर यस्तो भ्यान प्रयोग गर्नुपर्नेछ ।
त्यसो त केही समयअगाडि प्रदीप खड्काले पनि भ्यानिटी भ्यान खरिद गर्न लागेका समाचारहरू आएका थिए । तर, हालसम्म उनले भ्यानिटी भ्यान किनेको भने खबर आएको छैन ।
भ्यानिटी भ्यान भनेको आराम गर्ने कक्ष, वाथरुम, मेकअप रुमलगायत सुविधा भएको गाडी हो । जुन गाडी आउट डोर सुटिङमा प्रयोगमा ल्याउँदा सुटिङ युनिटलाई सहज हुन्छ ।
बलिउड र हलिउडमा भ्यानिटी भ्यान अनिबार्यजस्तै प्रयोग हुने गरेको छ । तर, सानो बजेटमा चलचित्र बन्ने नेपाली चलचित्र उद्योगमा भ्यानिटी भ्यान कतिले प्रयोग गर्न सक्छन् त्यो भने प्रयोगमा आएपछि नै थाहा हुनेछ । रोड नभएको दूरदराजका पहाडी क्षेत्रमा पनि भ्यानिटी भ्यान प्रयोग गर्न सम्भव हुँदैन । त्यसैले सडक सुविधा नभएका पहाडी र हिमाली क्षेत्रमा भने चाहेर पनि भ्यानिटी भ्यान भएको अवस्थामा पनि प्रयोग गर्न सकिने छैन ।



