नेपाली चलचित्रको पहिलो महिला पार्श्व गायिका को हो ?

काठमाडौं । चलचित्र ‘आमा’का नाममा थुप्रै रेकर्ड छन् । पहिलो नेपाली चलचित्र भएकाले पनि यो चलचित्रमा स्वभाविक रूपमा थुप्रै रेकर्ड छन् ।
यो चलचित्रसँग त थुप्रै रेकर्ड छन् नै यससँग जोडिएका व्यक्तिसँग पनि थुप्रै रेकर्डहरू छन् । यसको उदाहरण हुन्, तारादेवी । गायिका तारादेवी नेपाली चलचित्र उद्योगकै पहिलो पार्श्व गायिका हुन् ।

उनले वि.सं. २०२२ सालमा रिलिज भएको नेपालको पहिलो आधिकारिक नेपाली चलचित्र ‘आमा’मा गीत गाएर नेपाली पार्श्व गायिकाको रूपमा सुरुवात गरेकी थिइन् ।

मुलत उनी सुगम संगीतमा चम्किएकी गायिका भनेर धेरैले चिन्छन् । तर, चलचित्रमा पनि उनका थुप्रै गीत छन् । उनको जीवन्त स्वरमा थुप्रै चलचित्रका थुप्रै गीत कालजयी छन् । त्यसैले तारा देवीलाई नेपाली चलचित्रकी पहिलो महिला पार्श्व गायिका भनेर सम्मान गरिन्छ ।

‘आमा’ विसं २०२२ असोज १५ गते पहिलो पटक प्रदर्शनमा आएको थियो । यही चलचित्रले नेपाली सिनेमाको जग बसाएको थियो । २०२२ मा प्रदर्शनमा आएको यो चलचित्रलाई भारतीय निर्देशक हिरासिंह खत्रीले निर्देशन गरेका थिए ।

यो सिनेमा नेपालमा र नेपाली भाषा र नेपाली कलाकार लिएर निर्माण गरिए पनि यसको सम्पूर्ण प्राविधिक काम भने भारतमा र भारतीय चलचित्र प्राविधिकले गरेका थिए ।

चलचित्र ‘आमा’लाई तत्कालीन पञ्चायती शासन व्यवस्थाको प्रचारका लागि सरकारको प्रसार विभागले निर्माण गरेको थियो । ‘आमा’मा भुवन चन्द नायिका थिइन् । शिवशंकर मानन्धर नायक थिए । यी दुईलाई क्रमशः नेपालको पहिलो नायिका र नायक मानिन्छ ।

‘आमा’मा चैत्यदेवी, बसुन्धरा भुसाललगायत कलाकारको अभिनय रहेको थियो । यी कलाकारमध्ये अहिले शिवशंकको भने देशवासन भइसकेको छ । यो चलचित्रमा भारतीय कलाकार पनि थिए ।

पहिलो चलचित्र नै भारतीय निर्देशक र प्राविधिकले बनाएको र भारतमै काम भएकाले भारतीय चलचित्रजस्तै भयो । त्यसपछि पनि भारतीय र भारतबाट आएका निर्देशकले नेपाली चलचित्र बनाए । भारतीयले स्क्रिप्ट लेखे । भारतकै प्राविधिकले काम गरेकाले नेपाली चलचित्रमा भारतको प्रभाव सधैँ रहिरह्यो ।

कतिपयले भने ‘हरिषचन्द्र’लाई नेपाली पहिलो चलचित्र भन्छन् । नेपाली भाषामा बनेकाले यसलाई पहिलो चलचित्र मान्नुपर्ने तर्क गर्नेहरू छन् ।

डीबी परियारको निर्देशन गरेको ‘हरिशचन्द्र’ विसं ६००६ मा प्रदर्शनमा आएको थियो । यसमा नेपाली भाषाबाहेक केही पनि नेपाली थिएन । कलाकार पनि सबै भारतकै थिए ।

लामो समय ‘आमा’ कि ‘हरिषचन्द्र’ पहिलो नेपाली चलचित्र हो भन्ने विवाद रहेकोमा २०७९ सालमा चलचित्र विकास बोर्डले ‘आमा’लाई पहिलो नेपाली चलचित्रको मान्यता दिएको थियो ।

विकास बोर्डले आफ्नो आधिकारिक वेबसाइटमार्फत पहिलो नेपाली चलचित्र भएको आधिकारिता दिएको थियो । बोर्डको आधिकारिक वेबसाइटमा आमालाई पहिलो नेपाली चलचित्र भनेको राखेको छ ।

कोलकाताको रुपश्री सुटिङ स्टुडियोमा निर्माण भएको ‘हरिश्चन्द्र नेपालमा नबनेकाले त्यसलाई नेपालीभाषी मात्र भन्नुपर्ने तर्क थियो । यही विवादलाई लिएर चलचित्र निर्देशक समाजले सञ्चार मन्त्रालयलाई पहिलो नेपाली चलचित्रको आधिकारिता माग्दै पत्र पनि लेखेको थियो । तर, विकास बोर्डले पहिलो नेपाली चलचित्र ‘आमा’ भएको मान्यता दिएको थियो ।

‘आमा’ नाम राखेर हालसम्म नेपालमा तीनवटा चलचित्र बनिसकेका छन् । दोस्रोपटक २०५१ र तस्रोपटक २०७६ मा ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले चलचित्र ‘आमा’ सार्वजनिक प्रदर्शनमा आएको दिन असोज १५ लाई राष्ट्रिय चलचित्र दिवस घोषणा गरेको छ ।

चलचित्र विकास बोर्डको रजत जयन्तिको अवसर पारेर चलचित्र ‘आमा’को पोष्टर अंकित हुलाक टिकट सार्वजनिक गरेको छ ।