गुपचुप बिजनेसमा स्वस्तिमा खड्का, नगरकोटमा खोलिन् फार्म हाउस
काठमाडौं । पछिल्लो समय कलाकारहरूले वैकल्पिक क्षेत्रमा लगानी गर्न थालेका छन् । आफू चलचित्र क्षेत्रमा सक्रिय रहे पनि अन्य सेक्टरमा कलाकारहरूले लगानी गर्दै आएका छन् । यसको उदाहरणका रुपमा प्रदीप खड्का, पूजा शर्मा, स्वेता खड्का, वर्षा राउत, जितु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला आदि हुन् ।
यही बाटोमा आइपुगेकी छन्, अभिनेत्री स्वस्तिमा खड्का पनि । स्वस्तिमाले फार्म हाउसमा लगानी गरेकी छन् । उनले आफ्नै लगानीमा फाम हाउस खोलेकी हुन् ।
स्वस्तिमाले नगरकोटमा फार्म हाउस खोलेकी हुन् । फार्म हाउस नगरकोटको भ्युटावरबाट पछाडिपट्टि रहेको छ । यो फार्म हाउसमा जो कोही पनि जान सक्छ । तोकिएको शुल्क तिरेर बस्न सक्छ ।
एकजना गए पनि वा समूहमा मिलेर गए पनि न्यूनतम रकम तिरेर आफैँ पकाएर खाने तथा बस्ने सुविधा रहेको छ । गुपचुप खोलिएको फार्म हाउसबारे स्वस्तिमाले हालसम्म यसबारे सार्वजनिक रूपमा बताएकी छैनन् ।
उनले फार्म हाउस खोलिएको बारे धेरैलाई जानकारी नभएका कारण हालसम्म अधिकांश व्यक्ति चलचित्र क्षेत्रकै जाने गरेका छन् । विशेषगरी शान्त वातावरणमा काम गर्न र बस्न जान चाहने स्वस्तिमाको फार्म हाउस जाने गरेका छन् ।
स्वस्तिमाले यो फार्म हाउस खोलेको करिब एक वर्ष भइसकेको छ । तर, कति लगानीमा खोलिन्, कतिले रोजगारी पाइरहेका छन्, कति क्षमताको हो यसबारे उनले केही खुलाएकी छैनन् ।
अहिलेको पहिलो रोजाइकी अभिनेत्री स्वस्तिमाले चलचित्रसँगै बिजनेसमा लगानी गर्न थालेकी हुन् । आफू कला क्षेत्रमा व्यस्त रहे पनि उनले बिजनेसमा लगानी गरेकी हुन् ।



