‘धुरन्धर’: हिरो रणवीर सिंह, चर्चामा ‘रहमान डकैत’

काठमाडौं । बक्सअफिसमा डिसेम्बर ५ देखि प्रदर्शनमा आएको बलिउडको मल्टी-स्टारर एक्सन-थ्रिलर फिल्म ‘धुरन्धर’ ले यतिबेला दर्शकको मन जितिरहेको छ । फिल्ममा रणवीर सिंह नायकको भूमिकामा छन्, तर चर्चाको केन्द्रविन्दु भने खलनायकको भूमिका निर्वाह गरेका अभिनेता अक्षय खन्ना बनेका छन् ।

सामाजिक सञ्जालदेखि समीक्षकहरूसम्म सबैले अक्षय खन्नाको सशक्त अभिनयको तारिफ गरिरहेका छन् ।

यो फिल्ममा अक्षय खन्नाले ‘रहमान डकैत’ को भूमिका निर्वाह गरेका छन् । यो पात्र कराँचीको कुख्यात ग्याङस्टर ‘सरदार अब्दुल रहमान बलोच’ को जीवनमा आधारित रहेको बताइन्छ । फिल्ममा देखाइएको यो चरित्र यति क्रूर छ कि, उसले मानिसहरूलाई कसाईले जस्तै काट्न हिचकिचाउँदैन ।

वास्तविक जीवनमा रहमानमाथि सानै उमेरमा आफ्नै आमाको हत्या गरेको आरोप समेत लागेको थियो, जो सन् २००९ मा प्रहरी इन्काउन्टरमा मारिएका थिए । पर्दामा अक्षय खन्नाले यो भयानक र सनकी चरित्रलाई जीवन्त बनाएका छन् ।

‘एनिमल’ को याद दिलाउने भाइरल डान्स
अक्षय खन्नाको चरित्रलाई थप वजनदार बनाउन फिल्ममा एउटा विशेष अरबी गीत समावेश गरिएको छ । उक्त गीतमा अक्षयले गरेको नृत्य, उनको अनुहारको भाव र समग्र शैली अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

दर्शकहरूले उनको यो शैलीलाई निकै रुचाएका छन् । कतिपयले त यसलाई फिल्म ‘एनिमल’ को चर्चित गीत ‘जमाल कुडु’ सँग तुलना गर्दै यो त्योभन्दा पनि उत्कृष्ट भएको प्रतिक्रिया दिइरहेका छन् ।

फिल्मको गीत भाइरल भएसँगै अक्षय खन्नाका स्वर्गीय बुवा तथा बलिउडका दिग्गज अभिनेता विनोद खन्नाको एउटा पुरानो भिडियो पनि सामाजिक सञ्जालमा ट्रेन्डिङमा आएको छ ।

सन् १९८९ मा लाहोरमा आयोजित एक च्यारिटी कार्यक्रमको उक्त भिडियोमा विनोद खन्ना, अभिनेत्री रेखा र पूर्व पाकिस्तानी क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानसँग स्टेजमा नाचिरहेको देखिन्छन् । दर्शकहरूले विनोद खन्नाको उक्त नृत्यको हातको इशारा र अहिले ‘धुरन्धर’ मा अक्षय खन्नाले गरेको इशारा ठ्याक्कै मिलेको भन्दै बाबु-छोराको शैलीको तुलना गरिरहेका छन् ।

आदित्य धरको निर्देशन रहेको यो फिल्ममा रणवीर सिंह र अक्षय खन्नाका अलावा आर. माधवन, अर्जुन रामपाल र सारा अर्जुन जस्ता कलाकारहरूको अभिनय रहेको छ ।

दर्शकको सकारात्मक प्रतिक्रियाका कारण फिल्मले बक्स अफिसमा पनि राम्रो कमाइ गरिरहेको छ । ताजा रिपोर्ट अनुसार फिल्मले हालसम्म १५४.०५ करोड भारु कमाइसकेको छ ।