प्रिमियरमा सेलिब्रिटीहरूबाट ‘पीआर’को प्रशंसा, कसले के भन्यो ?
काठमाडौं । शोभित बस्नेत निर्देशित चलचित्र ‘पीआर: पर्मानेन्ट रेसिडेन्ट’को बुधबार साँझ क्यूएफएक्स सामाखुसीस्थित सिटी स्क्वायर हलमा प्रिमियर शो सम्पन्न भएको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्रको प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र कलाकार दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, रेखा थापा, जयकिशन बस्नेतलगायत दर्जनौं सेलिब्रिटी उपस्थित थिए ।
यो चलचित्रमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुको कथालाई भनिएको छ । ऋण खोजेर अष्ट्रेलिया पुगेका युवाहरुको सपना पीआर लिने हुन्छ । तर यता नेपालबाट ऋणमा पठाएको छोराले पैसा पठाउन नसक्दा र उताको परिस्थिति बुझ्न नसक्दाको अवस्थालाई निर्देशक बस्नेतले पर्दामा उतारेका छन् ।
उपस्थित कलाकारहरूले सिनेमा हेरेपछि समग्रमा यसको कथा र प्रस्तुती उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।
बोर्ड अध्यक्ष डीसीले पनि शोभित बस्नेतको निर्देशन र कलाकारको प्रदर्शन प्रशंसनीय रहेको उल्लेख गर्दै फिल्म नेपाली दर्शकका लागि हेर्नैपर्ने बताए ।
अभिनेत्री रेखा थापाले फिल्म अत्यन्तै राम्रो बनेको र नयाँ कलाकारहरूको अभिनय मन परेको बताइन् ।
अभिनेता सलिनमान बनियाँले मुख्य कलाकार सुरज पौडेल र विनिता कार्कीको डेब्यु प्रदर्शन निकै प्रभावशाली रहेको बताए ।
निर्देशक बस्नेतले आफ्ना कलाकारप्रतिको प्रशंसा सुन्दा अत्यन्त खुशी लागेको बताए । ‘फिल्म सुरु हुँदा नचिनिने कलाकारहरू प्रिमियरपछि दर्शकले फोटो खिच्न तानातान गरेको देख्दा म आफै सफल भएझैँ लाग्यो,’ उनले भने ।
विदेश अध्ययन, पीआरको दौडधूप र घर–परिवारको ऋणले थिचिएको नेपाली विद्यार्थीको यथार्थता कथामा प्रस्तुत फिल्मले भावनात्मक प्रभाव पार्ने रेजिना उप्रेतीले बताइन् ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरीलगायत कलाकारको मुख्य भूमिका छ । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की देखिनेछन् ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन् ।
सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेको यस फिल्मलाई सम्पादन बन्दे प्रसादले गरेका छन् । गणेश बुढाथोकीको लेखन रहेको चलचित्रमा गीतमा मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको गायनलाई सुन्न सकिनेछ ।
आरआर फिल्म्सले सिनेमा वितरण गर्दैछ ।



