चलचित्र ‘एक्लो–१’को ट्रेलर सार्वजनिक
काठमाडौं । साइन्स फिक्सन सिनेमा ‘एक्लो–१’को ट्रेलर सार्वजनिक गरिएको छ ।
प्रदीप शाहीको निर्देशनमा निर्माण भएको चलचित्रको बिहीबार सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पार्ने प्रयास गरेको छ ।
सन् २०२५ को कान्स सिनेमा फेस्टिभलको मार्केटमा प्रचार गरिएको सिनेमा अन्ततः नेपालका थिएटरमा सार्वजनिक प्रदर्शनमा आउन लागेको हो । यो चलचित्र १७ पुसमा रिलिज हुनेछ ।
सिनेमामा प्रदीप खड्कासँगै बेलायती अभिनेता जेमी बेकन पनि छन् । यो सिनेमामा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्नेछन् । बेकनसँगै कवितालाई बेलायती अन्तरिक्षयात्रीको रोलमा देखाइएको छ ।
मुस्ताङको पहाडमा देखिएका विजय लामाबाट ट्रेलरको सुरुवात हुन्छ । उनी एक रोबोट जस्तै देखिने पात्रसँग छन् । सार्वजनिक ट्रेलरमा प्रदीपको चरित्र केही झलक मात्रै देखाइएको छ । सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक शाहीले पूर्वीय आध्यात्मिक कथालाई आफूले पश्चिमा जनरामा मिश्रण गरेको बताए ।
काभ्रेको पनौती र हिमालपारिको जिल्ला मुस्ताङमा सिनेमा छायांकन गरिएको छ ।
शाई प्रोडक्सन्स नेपालको ब्यानरमा निर्माण भएको यो सिनेमामा विजय लामा, कविता नेपाली, बेनिशा हमाल, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकारहरु जेमिन श्रेष्ठ र स्योन सविक सिंहको पनि अभिनय छ ।



