तीनवटा चलचित्र एकै दिन रिलिज, खुसुक्क रिलिज भएका सिनेमा सुटुक्क उत्रिने संकेत
काठमाडौं । एकै दिन तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘पीआर’, ‘लोकन्ती’ र ‘चिराग’ आजबाट प्रदर्शनमा आएका हुन् ।
‘पीआर’ले राम्रो प्रचार गरेर हलमा भित्रिएको छ । ‘लोकन्ती’ र ‘चिराग’ भने खुसुक्क हलमा आएका छन् । यी चलचित्रले त्यति धेरै प्रचार गरेनन् । ‘चिराग’ प्रचारमा झनै पछि रह्यो ।
‘पीआर’ले खल्ती एपमा हेर्दा ४१ शो पाएको छ । ‘लोकन्ती’ले ११ र ‘चिराग’ले ४ शो पाएको छ । ‘पीआर’ले क्यूएफएक्समा स्थान पाएको छ । तर, ‘लोकन्ती’ र ‘चिराग’लाई क्यूएफएक्सले शो दिएन ।
यी सिनेमाको प्रचार र हाइप हेर्दा जसरी खुसुक्क रिलिज भए त्यसैगरी सुटुक्क बाहिरिने संकेत देखाएका छन् ।
शोभित बस्नेत निर्देशित चलचित्र ‘पीआर’ सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको हो । फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरीलगायत कलाकारको मुख्य भूमिका छ । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की देखिनेछन् ।
चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन् ।
सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेको यस फिल्मलाई सम्पादन बन्दे प्रसादले गरेका छन् । गणेश बुढाथोकीको लेखन रहेको चलचित्रमा गीतमा मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको गायनलाई सुन्न सकिनेछ । आरआर फिल्म्सले सिनेमा वितरण गरेको छ ।
चलचित्र ‘लोकन्ती’ पनि आजैबाट प्रदर्शनमा आएको छ । रञ्जित रानाको निर्देशनमा बनेको चलचित्रमा कमेडी र पारिवारिक कथा रहेको बताइएको छ ।
कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा एसराज गराच (सुरज), ऋचा थापा, विमला लिम्बू, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती लगायतको अभिनय रहेको छ ।
सन्तोष न्यौपाने निर्माता रहेको चलचित्रको कथा काजी लिम्बूले लेखेका हुन् । चलचित्रमा विकास चौधरीको संगीत, रोनिश तामाङ च्याङ्बाको छायांकन तथा गौतमराज खड्काको सम्पादन छ ।
‘चिराग’को लेखन र निर्देशन त्यागमूर्तिले गरेका छन् । यो चलचित्रको ‘आशाको चिराग कहिल्यै निभ्दैन’ भन्ने ट्यागलाइन राखिएको छ ।
त्यागमूर्तिसँगै सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेर बहादुर डिसी, संकला गौतम, नरेश प्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, बाल कलाकार सागर खरेल लगायतको अभिनय छ ।
निर्माता संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्ति हुन् । हरिनन्दा ब्यानरमा निर्माण भएको फिल्ममा समावेश गीतमा दीपक लिम्बू र अस्मिता अधिकारीको स्वर रहेको छ । पाश्र्व सङ्गीत लोकनाथ सापकोटाको छ ।
राहुल राई र मेफुज अन्सारीले खिचेको फिल्मको सम्पादन सुभाष देवकोटाले गरेका छन् । फिल्ममा गीतसंगीत पनि त्यागमूर्तिकै छ ।



