सकियो ‘कबड्डी ५’को छायांकन, प्रदर्शन मिति कहिले ?
काठमाडौं । लोकप्रिय फ्रेन्चाइज चलचित्र ‘कबड्डी–५: आफ्टर फाइनल म्याच’को छायांकन सम्पन्न भएको छ ।
मुस्ताङबाट सुरु गरिएको यो चलचित्र छायांकनको ४५ दिनको अवधिमा पूरा गर्दै निर्माण टिमले शुक्रबार सम्पूर्ण सुटिङ सम्पन्न भएको जानकारी दिएको हो ।
रामबाबु गुरूङ निर्माता तथा निर्देशक रहेको यस चलचित्रको करिब एक महिना मुस्ताङमा छायांकन गरिएको थियो भने बाँकी दृश्यहरू काठमाडौंमा खिचिएको थियो ।
यस चलचित्रको मुख्य भूमिकामा अघिल्लो भागदेखि देखिँदै आएका दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की कलाकार छन् ।
यो नयाँ श्रृंखलामा ‘कबड्डी २’ सम्म रहे पनि ३ र ४ मा छुटेकी रिम्मा गुरुङ पुनः जोडिएकी छन् । ‘कबड्डी–५’मा अर्की एक हिरोइनमा मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ पनि जोडिएकी छन् ।
‘कबड्डी–५’मा अभिनेता विपिन कार्कीको पनि मुख्य भूमिका छ । निर्माण पक्षले हालसम्म उनको कस्तो भूमिका हो भन्ने बारेमा केही जनकारी गराएको छैन ।
यो चलचित्रलाई सञ्जय लामाले खिचेका हुन् ।
बाँसुरी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘कबड्डी–५’को कार्यकारी निर्मातामा मणिराम पोखरेल छन् ।
‘कबड्डी’का चारै सिरिजले घरेलु बक्सअफिसमा राम्रो कलेक्सन गरेका थिए । ‘कबड्डी–४ : फाइनल म्याच’पछि आउन लागेको ‘कबड्डी–५’ले पनि राम्रो कलेक्सन गर्नेमा निर्माणपक्ष ढुक्क देखिएको छ ।
चलचित्रको प्रदर्शन मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।



