बेनिशाको असन्तुष्टि: भन्छिन्– ‘फिल्ममै नभएको कुरा राखेर गरिने प्रचारको हिस्सा बन्दिनँ’

काठमाडौं । अभिनेत्री बेनिशा हमालले आफ्नो आगामी चलचित्र ‘बिगुल’को टिजरप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । निर्माण टिमले सार्वजनिक गरेको टिजरमा सिनेमामै नभएका विषयवस्तु राखेर गलत प्रचार गर्न खोजिएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।

आफ्नै मुख्य भूमिका रहेको चलचित्रको टिजर सार्वजनिक हुँदा पनि बेनिशाले सामाजिक सञ्जालमा सेयर गरेकी छैनन्, जसले निर्माण पक्षसँगको उनको मतभेदलाई प्रष्ट पार्छ ।

अभिनेत्री बेनिशाले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि पोख्दै लेखेकी छिन्, “एक कलाकारको रूपमा म यो उद्योगमा १४ वर्षदेखि काम गर्दै आएको छु र मैले सधैं आफ्नो कामलाई सम्मान गरेको छु । म पेशागत आचरणमा विश्वास गर्छु र मानिसहरूको भावनाको सधैं कदर गर्ने प्रयास गर्छु ।”

उनले अगाडि थपेकी छिन्, “फिल्मसँग सम्बन्ध नै नभएका विषय वा अरूको भावनालाई प्रचारका लागि प्रयोग गर्ने प्रवृत्तिप्रति म असहमत छु । यदि फिल्ममै नभएको कुनै कुरा केवल प्रचारका लागि टिजरमा देखाइन्छ भने, म त्यस्तो अभ्यासको समर्थन गर्दिनँ र त्यसको हिस्सा बन्न चाहन्नँ ।”

बेनिशाले आफूले सधैं मानिसहरूको मूल्य र मर्यादाको सम्मान गरेको बताउँदै कलाकारको हैसियतले के सेयर गर्ने र के नगर्ने भन्ने सीमा आफूलाई स्पष्ट रहेको उल्लेख गरेकी छिन् ।

आगामी माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने ‘बिगुल’को टिजर आइतबार सार्वजनिक गरिएको थियो । टिजरमा देशको वर्तमान राजनीति, राष्ट्रभक्ति र ‘जेनजी’ आन्दोलन जस्ता विषयहरू समेटिएको छ ।

तर, अभिनेत्री बेनिशाको स्टाटसलाई आधार मान्ने हो भने टिजरमा देखाइएको कतिपय विषयवस्तु मूल सिनेमामा समावेश छैनन् । हामीले उनीसँग यसबारेमा थप बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

दिनेश कोइरालाको कथा तथा निर्माण रहेको यस चलचित्रलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । सिनेमाको पटकथा तथा संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका छन् ।

चलचित्रमा बेनिशा हमालका साथै नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।