पुस २६मा ‘२९ रिसोर्ट’मा कुटुम्बको लाइभ कन्सर्ट
काठमाडौं । लोकप्रिय सांगीतिक ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौंमा कन्सर्ट गर्ने भएको छ । ‘कुटुम्ब’ले पुस २६ गते शनिबार (जनवरी १०)मा बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फाम हाउस’मा लाइभ कन्सर्ट गर्ने भएको हो ।
साँझ ५ बजेबाट सुरु हुने कन्सर्टमा टिकटको मूल्य ५०० रुपैयाँ राखिएको छ ।
‘कुटुम्ब लाइभ म्युजिक’ नाम दिइएको कन्सर्टका आयोजक तथा २९ रिसोर्ट एन्ड फाम हाउसमध्येका एक दिमेश श्रेष्ठले धेरै भीडभाड नहोस् भनेर मात्रै टिकट लिएर मात्रै प्रवेश पाउने व्यवस्था मिलाइएको बताए ।
“टिकट बेचेर पैसा कमाउने हाम्रो उद्देश्य होइन,” चलचित्र निर्मातासमेत रहेका श्रेष्ठले भने, “दर्शकको सेलेक्सनका लागि मात्रै टिकट राखेका हौँ ।”
कन्सर्टमा ‘कुटुम्ब’ले नेवारीसँगै अन्य गीत पनि गाउनेछ । कुटुम्बले विशेषगरी नेवारी गीतसंगीत प्रस्तुत गर्नेछ ।
चार करोड लगानीमा ‘२९ रिसोर्ट एन्ड फाम हाउस’ गत वर्षबाट सञ्चालनमा आएको थियो । काठमाडौंको सेन्टर पोइन्टबाट नजिकै भएकाले ‘२९ रिसोर्ट एन्ड फाम हाउस’ धेरैको रोजाईमा परेको छ ।



