शाहरूख खानले मनिषा कोइरालालाई मुम्बईमा किन घर किन्न लगाए ?

काठमाडौं । कुनै समय बलिउड अभिनेत्री मनीषा कोइरालालाई एसियाकै सुन्दर मुहार भनेर चिनिन्थ्यो । बलिउडमा एक सय एक हिट सिनेमा दिएकी मनीषाका अहिले भने सिनेमा आउनेक्रम पातलिएको छ ।

सन् २०१२ मा डिम्बासयको क्यान्सरको सल्यक्रिया गरेपछि बलिउड सिनेमामा उनको व्यस्थता कम भएको थियो ।

नेपाली कलाकारले बलिउडमा स्थापित हुने त के सानो पासिङ रोलका लागि पनि कल्पनासम्म नगरेको समय मनीषा बलिउडको पहिलो रोजाइको नायिका भएर काम गरिन् । यो मनिषाका लागि मात्रै होइन, समग्र नेपालका लागि गर्वको विषय थियो ।

मनीषाले वर्षमा १२ वटा चलचित्रमा समेत काम गरेकी थिइन् । होटेल र सिनेमाको सेट उनको दैनिकी थियो । उनले बलिउडका एक सय एक हिट कलाकारसँग काम गरेकी छिन् । दर्जनौँ हिट सिनेमाको लिष्ट आफ्नो पोल्टामा आइसक्दा पनि मनीषाई भारतमा फिरन्ते कलाकार भन्थे । किनकी उनी नेपाली थिइन् । मुम्बईमा उनको घर थिएन ।

कलाकारहरूले मनीषालाई फिरन्ते, विदेशी भन्थे । बलिउडले आफ्नो कलाकार भनेर स्वीकार गर्न सकेको थिए । यो त्यहाँका धेरै कलाकारलाई थाहा थियो ।

यो अवस्थाले मनीषालाई त चोट परेको थियो नै उनका समकालीनरूलाई पनि राम्रो लागिरहेको थिएन । त्यसैले शाहरुख खानले मनीषालाई मुम्बईमा घर किन्न सल्लाह दिएका थिए । त्यसो त मनीषा स्वयंलाई पनि आफू मुम्बईकी हुँ भन्ने लाग्दैन थियो । मुम्बई आफ्नै हो भन्ने लाग्दैन थियो ।

“धेरै पछि, जुन बेला म शाहरूख खानसित एक फिल्म गर्दै थिए उनले भने, मनीषा, मलाई लाग्छ अब तिमीले मुम्बईमा घर किन्नुपर्छ ताकि तिमीलाई मुम्बई पनि आफ्नै घर जस्तो लागोस् ।”

मुम्बई पुगेदेखि मनीषा भाडाको घरमा बस्दै आएकी थिइन् । “मैले पैसा जोगाइरहेकी थिएँ । तर केका लागि हो, मलाई नै थाहा थिएन । शाहरूखले मलाई घर किनेर बसे आफूलाई स्थानीय भएको अनुभव हुने र फिरन्ते या डुलुवा नरहेको अनुभव हुने बताए,” मनीषा भन्छिन्, “उनको सुझावको प्रतिक्रियामा म केवल मुस्कुराएँ । किनभने मेरो प्राकृतिक फिरन्ते स्वभावलाई कुनै पनि घरले बाँध्न सक्दैन भन्ने मलाई राम्रोसँग थाहा थियो ।”

शाहरूख दिल्लीबाट मुम्बई आएका थिए, जसरी मनीषा नेपालबाट मुम्बई पुगेकी थिइन् । “सायद त्यस बेला मेरो मनभित्र कतै अन्तरकुन्तरमा म बाहिरको हुँ भन्ने प्रभाव देखिन थालेको थियो । म निकै परिश्रम गरेर काम गरिरहेकी थिएँ,” मनिषा आफ्नो आत्कथामा लेख्छिन्, “तर अधिकांश समय मलाई म यहाँको होइन भन्ने लाग्थ्यो ।”

अन्ततः शाहरूखको सुझावलाई मानेर सन् १९९९ मा मनीषाले मुम्बईमा घर किनिन् । र, मुम्बईलाई आफ्नो घर बनाइन् ।