सुस्ताएको बजार उकास्ने जिम्मा ‘झरीपछिको इन्द्रेणी’को काँधमा, सम्भावना छ ?
काठमाडौं । घोषणादेखि चर्चामा रहेको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत ‘झरीपछिको इन्द्रेणी’ आजबाट रिलिजमा आएको हो ।
यो चलचित्र दुई मुख्य कारणले चर्चामा रह्यो । पहिलो कारण– यो चलचित्र कुमार कट्टेल ‘जिग्री’सँग अलग भएर अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेका कारण सिनेमा वृत्तमा चर्चामा रह्यो । किनकी अर्जुन र कुमारले लामो समयदेखि सहकार्य गर्दै आएको हास्य कलाकारको जोडी थियो, जुन चलचित्र ‘लाज शरणम्’पछि अलगथलग भएको थियो ।
‘झरीपछिको इन्द्रेणी’ चर्चामा रहनुको दोस्रो कारण थियो– कसको लगानी भन्ने कुराले । सुरुमा यो सिनेमामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको लगानी रहने भनेर चर्चामा रह्यो । त्यसपति रुटिन अफ नेपाल बन्दको लगानी रहने भनेर चर्चामा रह्यो ।
चलचित्रको शुभमुहूर्तमा बालेनकी श्रीमती उपस्थित भएपछि यो सिनेमा थप चर्चामा रह्यो । जे होस् लगानी कसको रहेको छ र टिमका सदस्यहरू अलग हुँदा सिनेमाले चर्चा पायो ।
लगानी जसको होस्, यो दर्शकको सरोकारको विषय होइन । दर्शकलाई चाहिने राम्रो सिनेमा हो । दर्शकले मन पराउने राम्रो चलचित्र निर्माण भएको छ कि छैन त्यो महत्वपूण कुरा हो ।
यदि, राम्रो चलचित्र छ भने ‘परान’पछि सुस्ताएको बजार पुनः उठ्नेछ । तर, राम्रो रहेनछ भने सुस्ताएको बजारले नै निरन्तरता पाउनेछ । ‘परान’पछि रिलिज भएका चलचित्रले दर्शकको मन जित्न सकेका छैनन् ।
मंसिरमा ‘लडाइँ पहिचानको’, ‘हर्ष’, ‘अभिमन्यु’, ‘पीआर’, ‘लोकन्ती’ र ‘चिराग’ रिलिज भए । यी चलचित्रको बक्सअफिस बलियो उपस्थिति जनाउन सकेनन् । अब यी चलचित्रले दर्शकको मन जित्न नसकेको अवस्थामा ‘झरीपछिको इन्द्रेणी’को काँधमा बजारलाई चलायमान बनाउने जिम्मा आइपुगेको छ ।
तर, यो सिनेमाले उत्साहजनक शो पाएको छैन । त्यसैले अब यो सिनेमाको भविश्य दर्शकको रिभ्यूमा छ । दर्शकबाट राम्रो वर्ड अफ माउथ पायो भने ‘झरीपछिको इन्द्रेणी’ले शो बढाउँदै लगेर सुस्ताएको बजारलाई तताउने छ । तर, दर्शकबाट राम्रो रिभ्यू आएन भने बजार फर्काउनलाई फेरि अर्को कुनै सिनेमाको मुख ताक्नुपर्नेछ ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमा ‘झरीपछिको इन्द्रेणी’बाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् ।
सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।
यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिएका छन् ।
निर्देशक अर्जुन घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवाद गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् ।
अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन् ।



