भुइँमा खसेको टिप्न खोज्दा पोल्टाको नपोखियोस्

चलचित्र क्षेत्र आफैँमा सबै होइन । चलचित्रकर्मी नै सर्वेसर्वा होइनन् र सर्वगुणसम्पन्न पनि होइनन् । कोही पनि सर्वगुणी हुँदैन । कमजोरी सबैको हुन्छ । पूर्ण कोही हुँदैन ।

चलचित्र त झन् विभिन्न विधाहरूको पूर्ण प्याकेज हो । कथा, गीत, साउन्ड, अभिनय, कलर, कष्ट्युमलगायत विभिन्न विधाहरूको कलात्मक संयोजन हो । त्यसैले चलचित्र टिमवर्क हो । विभिन्न विधाका परिपक्व व्यक्तिहरूको कामको संयोजन हो ।

चलचित्रमा कुनै एउटा विधामात्रै कमजोर भयो भने पनि समग्रमा चलचित्र नै कमजोर हुन्छ । त्यसैले एकले अर्कोको विश्वास गर्नुको विकल्प छैन ।

तर, नेपाली चलचित्र उद्योगमा एकले अर्कोलाई विश्वास नगर्ने हो वा अरुलाई कमजोर ठान्ने हो अथवा आफूलाई नै सर्वेसर्वा ठान्ने प्रचलन उच्च छ ।

जस्तै, सिनेमाको कथा, पटकथा तथा संवाद पनि आफैँ लेख्ने । आफैँ मुख्य भूमिकामा खेल्ने । आफैँ निर्देशन गर्ने । आफैँ निर्माता हुने र त्यस्तै पर्‍यो भने सिनेमेटोग्राफर पनि आफैँ हुने चलन छ ।

चार/पाँचजनाले गर्ने काम एक्लै गर्नेहरूको संख्या ठूलो छ । त्यसको असर चलचित्रमा प्रष्ट देखिने गरेको छ । कथा, पटकथा र संवाद भिन्नभिन्न पाटो हो । लतरपतर गरेर काम चल्ने विषय होइन ।

चलचित्र दर्जनौँ व्यक्तिहरूको दिमागले गर्ने काम हो । जति धेरै दिमाग चलचित्रमा पर्छ, त्यति नै चलचित्र राम्रो बन्ने सम्भावना हुन्छ ।

एक्लै गरेको र धेरै मिलेर गरेको कामको नतिजा पक्कै राम्रो आउँछ । म नै वान मेन आर्मी हुँ भन्ने भ्रमबाट मुक्त हुन आवश्यक छ । जति चाँडो यो भ्रमबाट निर्माता तथा निर्देशक बाहिर आउँछन्, त्यति नै सिनेमा राम्रो हुने सम्भावना बढ्छ ।

सिनेमामा एउटै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न त कठिन हुन्छ । तर, निर्देशन, लेखन, अभिनयलगायत दुई वा शो भन्दा धेरै विधामा काम गर्न सहज हुँदैन । त्यसैले आफ्नो मुख्य विधा जे हो, त्यसमा आफूलाई केन्द्रित गरेर अरू काम सम्बन्धित विधाको दक्ष व्यक्तिबाट लिनु राम्रो हुन्छ ।

सबै विधामा मै जान्ने छु, म जति जान्ने सुन्ने कोही छैन भन्ने आत्मरतिमा रमाउँदा भुइँमा खसेको टिप्न खोज्दा पोल्टाको पनि पोखिने डर हुन्छ । यसमा सबै सजग हुनुपर्छ ।