बक्सअफिसमा ‘परान’को जादु: सुरुमा सुस्त, पछि ऐतिहासिक 

काठमाडौं । कात्तिक १४ गतेदेखि प्रर्दशनमा आएको चलचित्र ‘परान’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । शनिबार यो सिनेमाले काठमाडौंसहित देशभर गरेर दुई दर्जनभन्दा बढी हलमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको हो ।

प्रदर्शनको सुरुवाती पाँच दिनसम्म बक्सअफिसमा दयनीय अवस्थामा रहेको फिल्मले चौथो दिनबाट ‘यू–टर्न’ लियो । ‘परान’ले ‘यू–टर्न’मात्रै लिएन, नेपाली फिल्मको यो वर्षको हालसम्मकै नयाँ रेकर्ड कायम ग¥यो ।

सुरुवाती केही दिन हलमा दर्शकको खडेरी देख्दा धेरैले अड्कल काटेका थिए, ‘यो फिल्म पनि फ्लपको सूचीमा दर्ता हुने भयो ।’ तर, नेपाली फिल्म क्षेत्रमा एउटा पुरानो उखान छ, ‘फिल्म चल्नलाई ठूलो बजेट होइन, बलियो कथा र दर्शकको मन चाहिन्छ ।’ ठ्याक्कै त्यस्तै भयो फिल्म ‘परान’को हकमा ।

यो वर्ष प्रदर्शनमा आएका फिल्ममध्ये ५१ औँ दिन मनाउने ‘परान’ तेस्रो फिल्म बनेको छ । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले मात्र यो उपलब्धि हासिल गरेका थिए ।

तर, व्यापारको आँकडा हेर्ने हो भने ‘परान’ले धेरै ठूला फिल्महरूलाई पछाडि छाडेको छ । हालसम्म यो फिल्मले १७ करोड ६० लाख रुपैयाँको ग्रस व्यापार गर्दै ‘छक्का पञ्जा–४’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्महरूको व्यापारिक रेकर्डलाई समेत उछिनेको छ ।

योसँगै ‘परान’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो सफल फिल्म बन्न सफल भएको छ । अब यसभन्दा अगाडि ‘पूर्णबहादुरको सारङ्गी’ (४६.८७ करोड), ‘कबड्डी ४’ (२१.४० करोड) र ‘१२ गाउँ’ (१९.९२ करोड) मात्र रहेका छन् ।

मंसिरको जाडोमा पनि हलहरूमा ‘परान’कै राप देखियो । दर्शकबाट प्राप्त उत्कृष्ट ‘वर्ड अफ माउथ’ (प्रशंसा)कै कारण फिल्मले पाँच सातासम्म आक्रामक व्यापारलाई निरन्तरता दियो । यही बीचमा प्रदर्शनमा आएको बहुप्रतिक्षित सिक्वेल ‘जारी २’ समेत ‘परान’को दबदबाका कारण ओझेलमा पर्यो । हाल अझै पनि देशभरका आधा दर्जनभन्दा बढी हलमा फिल्मले आफ्नो उपस्थिति जनाइरहेको छ ।

व्यापारिक सफलतालाई मात्र नहेरी निर्माण पक्षले मानवीय सेवामा पनि हात बढाएको छ । ५१ औं दिन पूरा भएको अवसरमा फिल्म टोलीले टोखास्थित एक अनाथ आश्रममा पुगेर बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ । निर्माण पक्षले छिट्टै नै भव्य ‘सक्सेस पार्टी’ आयोजना गर्ने तयारी समेत गरेको छ ।

हास्य कलाकारको रूपमा चिनिएका दीपक प्रसाद आचार्य ‘काकु’को यो निर्देशकीय डेब्यु फिल्म हो । पहिलो गाँसमै उनले ढुङ्गा होइन, स्वर्ण पदक जितेका छन् । बाबु र छोराको मर्मस्पर्शी सम्बन्धलाई पर्दामा उतारेका उनलाई दिग्गज कलाकारहरूको बलियो साथ मिलेको छ ।

निर्देशक आचार्यकै कथा रहेको चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा र बुद्धि तामाङ जस्ता कलाकारको अभिनय छ ।

बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा र प्रिज्मा एडभर्टाइजिङ एजेन्सीका प्रमुख रन्जित आचार्यले लगानी गरेका हुन् ।

यस सिनेमाको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् । शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रमा मित्र डी. गुरूङको सम्पादन छ ।