गायिकाद्वयको मनमुटावको कुरा सामाजिक सञ्जालमा छताछुल्ल

काठमाडौं । गायिका एलिना चौहान र कला लम्सालबीचको विवाद फेरि चर्चिएको छ । केही महिना अघिदेखिको विवाद बिचमा सेलाएको थियो । अहिले आएर फेरि उनीहरुबीच आरोप पत्यारोप देखिएको छ ।

कला लम्सालले एक पोडकास्टमा बोल्दै कुनै सेलिब्रिटीले आफ्नो सिक्री लगाएर आफ्नै कुरा काटेको भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

उनले भनेकी छन्, “एक जना बहिनी, सेलेब्रेटी नै हुनुहुन्छ उहाँ । मेरो सिक्री उहाँसँग छुटेको थियो । नेपालको खत्रा पडकास्टमा गएर मेरै सिक्री लगाएर मेरै कुरा काट्नु भएको के ।” तर उनले उक्त पडकास्टमा ती ‘बहिनी’को नाम भने खुलाउन नचाहेको बताएकी छिन् ।

गायिका लम्सालले यो अभिव्यक्ति अर्की गायिका एलिनालाई लक्षित गरेर भनेकी रहेछिन् ।

त्यसपछि शनिबार दिउँसो गायिका एलिना चौहानले सामाजिक सञ्जाल फेसबुकमा पाँच मिनेटभन्दा लामो भिडियो सार्वजनिक गर्दै उक्त पडकास्टको जवाफ दिएकी छिन् । भिडियोमा चौहानले लम्सालले नै आफूलाई सिक्री राख्न दिएको बताएकी छिन् । आफ्नो कपडा अनुसार सिक्री नसुहाएको भन्दै लम्सालले सिक्री आफूलाई राख्न दिएको उनको भनाई छ । उस्सै राख्दा हराउन सक्ने भन्दै घाँटीमा नै लगाउन आग्रह गरेर आफूले लगाएको चौहानले बताएकी छिन् । तर सिक्री चोरेको जसरी प्रस्तुत गरेको भन्दै उनले भिडिओमा असन्तुष्टि जनाएकी छिन् ।

चौहानले गायिका लम्सालको अर्को पडकास्टको सानो क्लिप समेत राखेकी छिन् । उक्त भिडियो क्लिपमा गायिका लम्सालले पडकास्टको कुराकानीलाई एलिना चौहानको विषयतर्फ मोड्न आग्रह गरिरहेको सुनिन्छ । त्यसपछि उनले उक्त भाग सार्वजनिक नगर्न आग्रह गर्दै “यो त अफलाइन है” भनेकी छिन् ।

यसमा कलाले भनेकी छन्, “लिभ इट.. त्यहीँबाट कट गरौं… एलिनाको तिर मोड… यो त अफलाइन है…”

एलिनाका फ्यानले उक्त क्लीप काटेर एलिनालाई पठाएपछि त्यही क्लीप उनले सार्वजनिक गरेकी हुन् ।

सो क्लिप देखाउँदै गायिका चौहानले आफ्नो नाम जोडेर अन्तर्वार्ता दिँदै भाइरल हुन खोजेको आरोप गायिका लम्साल माथि लगाएकी छिन् ।

एलिनाले सार्वजनिक गरेको भिडियोमा भनेकी छिन्, “अमेरिकामा उहाँले आफ्नो लुगामा म्याच भएन भनेर मलाई सिक्री राखिदेउन भनेर दिनुभएको थियो । घाँटीमै लगाएर राख है भन्नुभएको थियो । मैले हुन्छ दिदी भनेर राखिदिएँ । पछि उहाँ अर्गनाइजरसँग झगडा भएर नेपाल फर्किनुभयो । फर्किने बेला हतार हतारमा माग्न बिर्सिनुभयो । मैसित थियो । दिदी सिक्री छुटेको छ म नेपाल आएर दिन्छु तपाईंलाई भनेँ । हस् भन्नुभयो । मलाई त होस हुँदैन नि त ! चोरेको होइन । केही होइन । उहाँले त मलाई चोर जस्तै बनाइदिनुभयो । कान खोलेर सुन्नुस, तपाईंको सिक्री होइन तपाईंको किड्नी किन्ने औकात मैले बनाएको छु क्या । तपाईंले मलाई यसरी नराम्रो बनाउनु पर्दैन बुझ्नुभो ? औला ठड्याएरै भन्छु, साँच्चीकै तपाईंको किड्नी किन्ने औकात बनाएको छु बुझ्नु भो ?”

‘यूएनए डिजिटल’ मा १९ डिसेम्बरमा सार्वजनिक कला लम्सालको पडकास्टमा हाल उक्त क्लिप छैन । पडकास्ट सार्वजनिक भएको केही समयमा नै आफूले सो क्लिप पाएको र हाल हटाइसकेको गायिका चौहानले बताएकी छिन् ।