‘एक्लो’ चले पनि/नचले पनि प्रदीप खड्का लागि टर्निङ पोइन्ट बन्दै
काठमाडौं । कुनै समय नेपाली चलचित्र उद्योगमा प्रदीप खड्काको नाममा नै ब्रान्ड थियो । ‘प्रेमगीत’, ‘प्रेमगीत–२’ चलचित्रले उनलाई युवापुस्तामाझ लोकप्रिय बनाएको थियो ।
चलचित्र ‘पुजार सार्की’सम्म आउँदासम्म पनि उनले दर्शकको मन जिते । तर, त्यसपछिका उनका सिनेमाले भने अपेक्षित व्यापार गरेनन् । त्यसैले अहिले अब उनका सिनेमाले कस्तो व्यापार गर्लान् भन्ने धेरैको चासोको विषय बनेको छ ।
यसको अर्थ प्रदीपको त्यो स्टारडम बाँकी छ भन्ने हो । तर, स्टारडमले नेपालमा सिनेमा चल्दैनन् । यो दयाहाङ राई, अनमोल केसीका चलचित्रले पनि पुष्टि गरिसकेका छन् । त्यसैले प्रदीपको स्टाडरडम छैन वा सकियो भन्दा उनलाई अन्याय हुन्छ । तर, दबाबमा भने उनी पक्कै छन् ।
प्रदीप अभिनीत ‘एक्टर टेक वन’ले निकै कमजोर व्यापार गरेको थियो । ‘पिताम्बर’ले पनि सोचेजस्तो व्यापार गर्न सकेको थिएन । यी सिनेमा पछि प्रदीपका सिनेमाले कमाउँछन् नै भन्ने रिलिजभन्दा अगाडि नै यकिन गर्न नसकिने वातावरण बनेको छ ।
यही बीचमा अब उनको नयाँ चलचित्र ‘एक्लो’ रिलिज हुँदैछ । साइन्स फिक्सन जनरामा बनेको ‘एक्लो’ यही पुस १७ गते रिलिज हुने तयारीमा छ । यसको ट्रेलरले पनि युट्युबमा निकै राम्रो भ्युज पाइरहेको छ ।
यो चलचित्र प्रदीपका लागि सामान्य रिलिज मात्र नभएर उनको करियरको टर्निङ पोइन्ट पनि बन्न सक्छ । चल्दा पनि र नचल्दा पनि टर्निङ पोइन्ट ।
किनभने एकातिर मंसिर लागेसँगै चिसिएको नेपाली सिनेमाको बजारलाई लयमा फर्काउनुपर्नेछ, अर्को उनको करियरकै लागि पनि ‘एक्लो’ चल्नै पर्नेछ ।
प्रदीपको क्रेज यथावत छ भन्ने प्रमाणित गर्न पनि यो सिनेमा चल्नुपर्नेछ । ‘एक्लो’ले स्वयं प्रदीपको सुस्ताएको करियर र बजारलाई फर्काउन पनि चल्नै पर्ने दबाब छ ।




