‘प्रतिवैरम’को फर्स्टलुकमा आगो, पीडा र प्रेम

काठमाडौं । चलचित्र ‘प्रतिवैरम’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुलाई मुख्य आधार बनाएको यस चलचित्रको पोस्टरले गम्भीर, भावनात्मक र शक्तिशाली कथावस्तुको झलक दिएको छ ।

निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्रको सार्वजनिक पोस्टरमा आगो, पीडा र प्रेमको प्रतीकात्मक संयोजन मार्फत कथाको गहिराइलाई उजागर गर्ने प्रयास गरिएको छ ।

पोस्टरको केन्द्रमा मुख्य कलाकारद्वय सम्राट दास र सुप्रज्ञा शर्माको सशक्त उपस्थिति छ, जसले संघर्ष, संवेदना र विद्रोहको भावलाई एकसाथ प्रस्तुत गरेको देखिन्छ ।

यस चलचित्रमार्फत सम्राट दासले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । पोस्टरमा उनलाई एउटा प्रभावशाली र फरक अवतारमा प्रस्तुत गरिएको छ, जहाँ उनको शारीरिक हाउभाउ र आँखामा झल्किएको आक्रोशले पात्रको जिम्मेवारी र संघर्षलाई जीवन्त बनाएको छ ।

निर्देशक दासका अनुसार सम्राटको यो भूमिका उनको करियरकै विशेष र सम्झनलायक हुनेछ । यस्तै, मुख्य अभिनेत्री सुप्रज्ञा शर्माको अनुहारमा झल्किएको पीडा र भरोसाले कथाको मानवीय पक्षलाई थप बलियो बनाएको छ ।

चलचित्रमा सम्राट र सुप्रज्ञाका साथै बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिक्की शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के, बिके शाह र रामेश बुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेखेका हुन् ।

निर्माण पक्षका अनुसार ‘प्रतिवैरम’ २०८३ सालको जेठ महिनामा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको यो चलचित्र बहुभाषिक स्वरूपको रहेको छ ।