छोरी कवितामाथि ‘बडी शेमिङ’ भएपछि आक्रोशित बनिन् करिश्मा, दिइन् कानुनी कारबाहीको चेतावनी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नी छोरी कविता मानन्धरको शारीरिक बनावटलाई लिएर सामाजिक सञ्जालमा भइरहेका अभद्र र तल्लो स्तरका टिप्पणीप्रति कडा आपत्ति जनाएकी छिन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा कवितामाथि बारम्बार ‘बडी शेमिङ’ हुन थालेपछि करिश्माले एउटा आक्रोशपूर्ण स्टाटस लेख्दै यस्ता हर्कत गर्नेहरूलाई चेतावनी दिएकी हुन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै करिश्माले मानिसहरूमा मानवता हराउँदै गएको र शब्दहरू हतियारको रूपमा प्रयोग हुन थालेकोमा चिन्ता व्यक्त गरेकी छिन् ।

उनले लेखेकी छिन्, “मेरो छोरीमाथि बारम्बार बडी शेमिङका टिप्पणीहरू गरिन्छ । उसको परिस्थिति के हो र उसले के भोगिरहेको छ भन्ने कुरा नबुझी कसैको शरीर, स्वरूप वा अस्तित्वमाथि प्रश्न उठाउनु कतिसम्म जायज हो ?”

करिश्माले सुन्दरताको विविधता नै संसारको सुन्दरता भएको उल्लेख गर्दै थप लेखेकी छिन्, “के सुन्दरताको कुनै एउटै मापदण्ड सीमित हुन्छ र? यदि त्यस्तो हो भने, के त्यो मापदण्डमा नपरेका मानिसहरूले मान्छे भएर बाँच्ने अधिकार गुमाउँछन्?”

हरेक व्यक्ति जस्तो छ, त्यसरी नै बाँच्न पाउनु उसको जन्मसिद्ध अधिकार भएको करिश्माले उल्लेख गरेकी छिन् ।

छोरीलाई आफूसँग तुलना गरेर टिप्पणी गर्नेहरूको सोचप्रति प्रश्न उठाउँदै करिश्माले आफ्नो सहनशीलताको पनि सीमा हुने स्पष्ट पारेकी छिन् । यस्ता खालका अपमानजनक टिप्पणीले आफ्नो परिवारलाई मानसिक क्षति पुर्‍याएमा आफू चुप लागेर नबस्ने र कानुनी बाटो रोज्ने चेतावनी समेत उनले दिएकी छिन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा ‘साइबर बुलिङ’ र व्यक्तिको निजी जीवनमाथि हुने प्रहार बढ्दै गएको छ ।