‘सुनियान सुनियान’ गायक मिक्ससिंह जस आज चार घण्टा काठमाडौंमा गुञ्जिँदै

काठमाडौं । यदि तपाईं पञ्जाबी पप संगीतको पारखी हुनुहुन्छ र ‘सुनियान सुनियान’ गीतमा टिकटक बनाउनु भएको छ भने, आज तपाईंको लागि विशेष दिन हो ।

विश्वभर चर्चा कमाइरहेका चर्चित पञ्जाबी गायक मिक्ससिंह जस आज (शनिबार) साँझ काठमाडौंको ठमेलमा गुञ्जिँदैछन् ।

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा स्किलमाण्डु नेपालले आयोजना गरेको ‘फेक न्यु इयर तथा पञ्जावी पप नाइट’का लागि मिक्ससिंह बिहीबार नै नेपाल आइपुगेका हुन् । ठमेलस्थित क्लब नोभामा हुने यस विशेष कार्यक्रममा उनले करिब चार घण्टासम्म आफ्ना चर्चित प्रस्तुतिहरू मार्फत नेपाली दर्शकलाई झुमाउनेछन् ।

बिहीबार होटल मनास्लुमा आयोजित पत्रकार सम्मेलनमा गायक मिक्ससिंहले भने, “मेरो सुपरहिट गीत ‘सुनियान सुनियान’मा करिब ३० प्रतिशत प्रतिक्रिया त नेपालबाटै आउने गरेको छ । त्यही मायाले गर्दा मलाई नेपाल आउने ठूलो इच्छा थियो र आज यहाँ आउन पाउँदा निकै खुसी छु ।”

आजको कार्यक्रम केवल कन्सर्ट मात्र हुने छैन । आयोजकका अनुसार कार्यक्रममा पञ्जाबी भांगडा डान्ससहित १० वटा फरक-फरक प्रस्तुतिहरू रहनेछन् ।