चलचित्र ‘बिगुल’को नयाँ गीत सार्वजनिक
काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बिगुल’को नयाँ गीत ‘आउँ यस्तो देश बनाऔँ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको शब्द र सङ्गीत रहेको छ । यो गीतमा राजेश पायल राईको आवाज रहेको छ । उक्त गीतमा चलचित्रका सबै प्रमुख कलाकार प्रस्तुत छन् ।
रमेश कोइरालाको निर्देशन र दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ मा देश प्रेम, राष्ट्रभक्ति, समावेशिता, शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ ।
सार्वजनिक उक्त गीतमा राष्ट्रिय झण्डासहित देशमा सुशासन, विकास र शान्तिको सन्देश फैलाउन कलाकारहरू घरदैलो जागरणात्मक अभियानमा लागेको देखाइएको छ ।
जसमा चुनावी झल्को दिएको छ । कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्रको गीतमा आमजनताको आवाज मुखरित भएको दाबी निर्माण पक्षको छ ।
‘‘बिगुल’ भुईँ मान्छेको कथा र समृद्ध नेपालको कल्पनालाई आव्हान गरिएको चलचित्र हो,’ निर्देशक कोइराला भन्छन्, ‘देशको समसामयिक घटनाक्रम अनि राजनैतिक विषयमा आधारित कथावस्तु भए तापनि चलचित्र पूर्ण व्यावसायिक उद्देश्यले निर्माण गरेका हौँ । चलचित्रमा समाज जागरणको सन्देशका साथमा भरपुर मनोरञ्जन प्रस्तुत गरेका हौँ ।’
चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मिरा पण्डित, मानश्री शर्मालगायतको अभिनय छ ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण चलचित्रमा महेश कोइराला र सूर्यकान्त कोइराला सह निर्माता रहेका छन् । चलचित्रको पटकथा र संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिव ढकालको छायाङकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल र मनोज चौलागाईंको सङ्गीत रहेको छ ।
चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् । चलचित्र राजधानीभित्र काफिया फिल्म्स् र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्दै छ ।



