भारतीय सिनेमामा ५ हजार करोडभन्दा बढीको दाउ, यी हुन् २०२६ मा पर्खन लायक ठूला फिल्महरू

काठमाडौं । सन् २०२५ सुरु हुन अब केही दिन मात्र बाँकी छ । नयाँ वर्षको स्वागतका लागि विश्वभर उत्साह छाउँदा भारतीय सिनेमा क्षेत्रका लागि भने सन् २०२६ एउटा ‘ऐतिहासिक’ वर्ष हुने संकेत देखिएको छ । ठूला स्टारहरू, बहुप्रतिक्षित सिक्वेल र विशाल बजेटका फिल्महरूको लामो सूचीले सन् २०२६ लाई ‘ब्लकबस्टर वर्ष’ बनाउने निश्चित छ ।

सन् २०२६ भारतीय सिनेमा इतिहासकै सबैभन्दा महँगो र सफल वर्ष हुन सक्छ । २०२६ मा रिलिज हुने मुख्य फिल्महरुको कुल बजेट २ हजार करोडभन्दा बढी रहने अनुमान छ । यो वर्ष केवल फिल्म मात्र आउने छैनन्, भारतीय सिनेमामा दक्षिण भारतीय र उत्तर बलिउड स्टारहरूको सहकार्यले एउटा नयाँ ‘प्यान इन्डिया’ युगको उचाई लिनेछ ।

यशको ‘टक्सिक’ देखि रणवीर कपूरको ‘रामायण’ सम्म २०२६ मा रिलिज हुने १० यस्ता फिल्महरू छन् जसको फ्यानहरूले व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् ।

बोर्डर २
सन् १९९७ को क्लासिक युद्ध-फिल्म ‘बोर्डर’ को सिक्वेल ‘बोर्डर २’ ले २०२६ को सुरुवात गर्नेछ । सन्नी देओल, वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टीको मुख्य भूमिका रहेको यो फिल्मलाई अनुराग सिंहले निर्देशन गरेका छन् । गणतन्त्र दिवसको अवसरमा रिलिज हुने यो फिल्मले देशभक्तिको नयाँ लहर ल्याउने अपेक्षा गरिएको छ ।

‘बोर्डर २’ ले भारत-पाकिस्तान युद्धको कथा भन्छ ।

मर्दानी ३
रानी मुखर्जी फेरि एकपटक निडर प्रहरी अधिकारी ‘शिवानी शिवाजी रोय’ को भूमिकामा फर्कदै छिन् । अभिराज मिनावालाले निर्देशन गर्ने यो फ्रेन्चाइजीको तेस्रो भागले सामाजिक मुद्दा र अपराधको गहिरो कथा समेट्नेछ ।

टक्सिक
‘केजिएफ’ बाट विश्वभर तहल्का मच्चाएका यशको अर्को मेगा मुभी ‘टक्सिक’ मार्च १९ मा रिलिज हुँदैछ । यो फिल्म २०२६ को सबैभन्दा ठूलो र प्रतीक्षित मध्ये एक हो । सुरुमा २०२५ मा रिलिज हुने भनिए पनि अब यो मार्च १९ मा आउने लागेको हो ।

‘टक्सिक’ यो एक डार्क एक्सन थ्रिलर हो, जसले ग्याङ्स्टर ड्रामालाई नयाँ ढंगले प्रस्तुत गर्नेछ । फिल्ममा कियारा आडवाणी र हुमा कुरेशीको विशेष भूमिका रहनेछ, जसको लुक्सले अहिले नै सामाजिक सञ्जालमा चर्चा कमाइरहेको छ ।

धुरन्धर २
सन् २०२५ मा १००० करोडभन्दा बढी व्यापार गरेको ‘धुरन्धर’ को सफलतापछि निर्माताहरूले यसको दोस्रो भाग घोषणा गरेका छन् । रणवीर सिंह र अक्षय खन्ना अभिनित यो फिल्मको नाम ‘बदला’ राखिएको छ । यो फिल्म पनि ‘टक्सिक’ सँगै मार्चमा रिलिज हुने छ ।

‘धुरन्धर १’ ले १००० करोड कमाएका कारण दर्शकमाझ यसको दोस्रो भागप्रति व्यग्रता प्रतीक्षा छ ।

भूत बंगला
धेरै वर्षपछि अक्षय कुमार र निर्देशक प्रियदर्शनको ‘आइकॉनिक’ जोडी पर्दामा फर्किँदैछ । यो एक हरर-कमेडी फिल्म हो, जसमा वामिका गब्बी र परेश रावलको पनि मुख्य भूमिकामा छन् । फ्यानहरू यो जोडीबाट ‘भुल भुलैया’ जस्तै जादुको अपेक्षा गरिरहेका छन् ।

आवारापन २
इमरान हाश्मीको करियरको उत्कृष्ट फिल्ममध्ये एक ‘आवारापन’ को सिक्वेल १९ वर्षपछि आउँदैछ । यस पटक नितिन कक्कडले निर्देशन गरेको यो फिल्ममा इमरान फेरि एकपटक आफ्नो गम्भीर र प्रेमी अवतारमा देखिनेछन् ।

ब्याटल अफ गलवान
बलिउडका भाइजान अर्थात् अभिनेता सलमान खानले आफ्नो जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक टिजर सार्वजनिक गरेका थिए । २०२० मा लद्दाखको गलवानमा चिनियाँ सैनिकसँग भएको वास्तविक झडपमा आधारित यो फिल्ममा सलमान भारतीय सेनाको अधिकारीको रूपमा देखिनेछन् । अपूर्व लाखियाले यसलाई निर्देशन गर्दैछन् ।

नागजिला
कार्तिक आर्यन र करण जोहरको सहकार्यमा बन्न लागेको ‘नागजिला’ एउटा काल्पनिक फिल्म हो । कार्तिक यसमा ‘इच्छाधारी नाग’ को भूमिकामा देखिनेछन् । बलिउडमा यस्तो विषयवस्तुमा फिल्म बन्न लागेकोले दर्शकहरूमा निकै कौतुहलता छ ।

दृश्यम ३
विजय सालगांवकर र उनको परिवारको रहस्यमयी कथा फेरि फर्किएको छ । अजय देवगन अभिनित ‘दृश्यम ३’ अक्टोबर २ (गान्धी जयन्ती) को अवसर पारेर रिलिज हुनेछ । यो फ्रेन्चाइजीको पछिल्ला दुई भागले बक्स अफिसमा तहल्का मच्चाएका थिए ।

रामायण
सन् २०२६ को सबैभन्दा ठूलो र प्रतिक्षित प्रोजेक्ट नितेश तिवारीको ‘रामायण’ हो । यो दुई भागमा निर्माण हुने महाकाव्यमा रणवीर कपूर (राम), साई पल्लवी (सीता), यश (रावण) र सन्नी देओल (हनुमान) को भूमिकामा देखिनेछन् । करिब ५०० देखि ६०० करोडको बजेटमा बन्न लागेको यो फिल्म दीपावलीमा रिलिज हुने छ । यो फिल्मले भारतीय सिनेमाको इतिहासमा नयाँ मानक स्थापना गर्ने अनुमान गरिएको छ ।