यी कारणले चलेन ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’ यो वर्ष धेरैले अपेक्षाको नजरले हेरेको चलचित्र थियो । किन भने यसको निर्माण टिम नै त्यस्तै थियो ।

रुटिन अफ नेपाल बन्द यसको निर्माणमा जोडिएको थियो । चर्चित हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) यसका निर्देशक थिए । कथा तथा पटकथामा रास्वपाका केही नेता जोडिएका थिए ।

यी भन्दा पनि एक कदम अगाडि यो चलचित्रसँग जोडिएका थिए, बालेन शाह । बालेन जो आफैँले यो चलचित्रका लागि एउटा गीत गाइदिए । अर्को गीत पनि बालेनले आफ्नो युट्युब च्यानलमार्फत बजारमा आएको थियो । यी लगायत कारणले यो चलचित्रलाई अपेक्षाको नजरले हेरिएको थियो ।

तर, डे वान देखि नै यो चलचित्र अपेक्षाकृत चलेन । यसका पछाडि थुप्रै कारण छन् ।

सबैभन्दा पहिलो कारण त पटकथा नै हो, जुन सोचेजस्तो भएन । कथा नेपाली समाजको जल्दोबल्दो विषय हो । यथार्थ विषय हो । यथार्थ विषय भएपछि त्यसको पटकथा पनि सत्यसँग नजिक हुनुपर्छ । विश्वस्नीय हुनुपर्छ । जुन यो चलचित्रमा अभाव देखियो ।

घरमा छोराले बाबुसँग गरेको आन्दोलन होस् वा अस्ट्रेलिया जानका लागि गरेको वार्मअप होस्, निकै धेरै ड्रामाटिक छ । लार्जर देन लाइफ चलचित्रमा भए सहजै स्वीकार्ने विषय हो, तर विषयप्रधान चलचित्रमा ड्रामा बढी भयो ।

अर्को चलचित्रमा गणेश उप्रेती मुख्य भूमिकामा छन् । उनको अभिनय पनि तारिफयोग्य छ । अन्य कलाकारको तुलनामा उनको अभिनय पनि धेरै माथि छ । तर, उनको जुन ग्याप नेपाली चलचित्र र दर्शकमा छ, सायद त्यसको असर देखियो । किनकि कलाकारहरूको कमब्याक त्यति धेरै सफल देखिएको छैन । यही ‘झरीपछिको इन्द्रेणी’मा पनि दोहोरियो ।

त्यसैले सामाजिक सञ्जालमा धेरै पपुलर रहेका बालेनले सिनेमा राम्रो रहेछ, तपाईंहरू पनि हेर्नुस् है भन्दा पनि दर्शकले हेरेनन् ।

अर्को पक्ष, जब कलाकार, निर्माता र निर्देशक आफ्नो चलचित्र राम्रो रहेको तर हलले शो नदिएको, राजनीति गरेर आफ्नो चलचित्रलाई सक्काउने षड्यन्त्र भएको भन्दै मिडिया र सामाजिक सञ्जालमार्फत गाली गर्न थाल्छन्, दर्शकप्रति ती चलचित्रमा झन भरोसा गुम्ने गरेको देखिन्छ ।

अर्को, जब सिनेमाको प्रचारको हतियार राजनीतिक व्यक्ति, नेताहरूलाई बनाउने प्रयास निर्देशक र निर्माताले गर्न थाल्छन्, त्यसपछि झन् दर्शकले त्यस्ता चलचित्रमा भरोसा गर्दैनन् । यस्तै कारणले ‘चलचित्र झरिपछिको इन्द्रेणी’ले दर्शकको उल्लेख्य साथ पाउन सकेन ।

तर, निर्देशक र निर्माताले जुुन समसामयिक विषय उठान गरेर एउटा प्रष्ट सन्देश दिन खोजेका छन् र यसका लागि रिस्क लिएका छन्, यसका लागि भने अर्जुन घिमिरे धन्यवादका पात्र हुन् ।