सुमन ज्योती र झरनाको मुख्य अभिनयमा ‘बम बिहारी’

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘बम बिहारी’को शुभमुहूर्त गरिएको छ । आज भक्तपुरमा रहेको हनुमान मन्दिरमा पूजा गर्दै चलचित्रको मुहूर्त गरिएको हो । चलचित्रको आजैबाट छायांकन सुरु गरिएको छ ।

चलचित्रलाई डिएमएस मल्ले निर्देशन गर्दैछन् । उनले यो भन्दा अघि झण्डै ५० वटा म्युजिक भिडियोको निर्देशन गरेका छन् ।

चलचित्रको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले जानकारी दिएका छन् । उनका अनुसार छायांकन काठमाडौंसँगै नेपालगन्जमा पनि हुनेछ ।

नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा ‘बम बिहारी’मा छ । ‘बम बिहारी’ एक पात्रको नाम हो । उनकै वरिपरी चलचित्रको कथा घुम्नेछ ।

निर्देशक मल्लले भने, “पछिल्लो समय चलचित्रमा नयाँ कलाकार भए पनि कथा र मेकिङ राम्रो छ भने दर्शक हलसम्म गएको उदाहरण धेरै छन् । त्यसैले मलाई विश्वास छ चलचित्र राम्रो हुनेछ र दर्शकलाई मन पर्नेछ ।” चलचित्रमा कथा र लगानी पनि निर्देशक डिएमएस मल्लकै रहनेछ ।

चलचित्रमा सुरबिर पण्डित, सुमन ज्योती न्यौपाने, ध्रुव बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुस्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहनेछ ।

पछिल्लो समय थुप्रै म्युजिक भिडियोमा ब्यस्त कलाकार सुमन ज्योती न्यौपानेले चलचित्रमा आफू नकारात्मक भूमिकामा देखिन लागेको स्पष्ट पारे ।

झरना रिसालले सात वर्ष पछि आफूले चलचित्रमा काम गर्न लागेको जानकारी दिइन् । उनले यसअघि ‘भूमि द ग्रेट लेडी’, ‘परिणाम’ र ‘कसलाई आफ्नो भन्नु’ चलचित्रमा काम गरिसकेकी छिन् । झरनाको यो चौथो चलचित्र हो ।