खोइ कता गए पाँचतारे होटलमा तामझामका साथ घोषणा भएका चलचित्र ?

पवन भट्टराई

पाँचतारे होटलमा घोषणा हुने नेपाली चलचित्र: निर्माण हुन नसक्ने ‘अनलक्की’ कथा

काठमाडौं ।  नेपाली चलचित्रका लागि पाँचतारे होटलले ‘अनलक्की’को छाप बनाएका छन् । महंगा र आलिशान यस्ता होटलमा घोषणा गरिएका धेरैजसो सिनेमा निर्माणकै चरणमा अड्किएका छन् । अचेल कुनै नेपाली चलचित्रको पाँचतारे होटलमा घोषणा भयो भने निर्माण हुनेमै आशंका उब्जिन थाल्छ ।

पाँचतारे होटेलमा सिनेमाका लागि आफैँमा समस्या होइनन्, यहाँ निर्माणको घोषणा भएका चलचित्र निर्माण हुन नसक्नु पक्कै पनि संयोग मात्रै हो ।

पाँचतारे होटलमा तामझामसहित घोषणा भएका ‘दीपेन्द्र सरकार’, ‘ह्याप्पी न्यू इयर’, ‘घुइँचो’, ‘रानी महल’, ‘सिड्नी’ जस्ता सिनेमाको सूची लामो छ, जो पाँचतारे होटलमा घोषणा भए तर बन्न सकेनन् ।

२०७४ सालको जेठमा निर्माता सन्तोष सेनले दरबारमार्गको पाँचतारे होटल याक एन्ड यतिमा चलचित्र ‘दीपेन्द्र सरकार’को निर्माण घोषणा गरेका थिए । सिनेमामा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने जानकारी गराइएको थियो । तर, घोषणाको ७ वर्ष भन्दा बढी भइसक्दा समेत यो चलचित्रको निर्माण अन्योल छ ।

करिब ८ वर्षअघि नयाँ बानेश्वरस्थित पाँचतारे होटल एभरेष्टमा चलचित्र ‘ह्याप्पी न्यू इयर’को तामझामपूर्ण घोषणा गरिएको थियो । सिनेमामा कलाकारमा अनुप विक्रम शाही र वेनिशा हमाल थिए । प्रविण श्रेष्ठको निर्देशनमा गृहेन्द्र घिमिरे निर्माता रहेको यो सिनेमा पनि घोषणामै सीमित रहन पुग्यो ।

यही होटलमा शोभित बस्नेतले निर्देशन गर्ने भनिएको बलिउड चलचित्र ‘मैं वो नहीं’को पनि निर्माण घोषणा गरिएको थियो । तर, यो सिनेमा पनि बन्न सकेन ।

एभरेष्ट होटलमै २०७८ सालमा अर्को चलचित्र ‘घुइँचो’को घोषणा गरिएको थियो । घोषणामा कुन हदसम्म चटक देखाइएको थियो भने धमला पत्नी एलिजा गौतम र कलाका कुन्साङ बम्जनलाई हिँड्नका लागि होटलको महंगो कार्पेटमाथि फूल विछ्याइएको थियो । यो सिनेमाको निर्देशकमा दीपेन्द्र लामा थिए । निर्देशक लामाको यो चलचित्र घोषणापछि अन्य दुई सिनेमा प्रदर्शन भए, तर ‘घुइँचो’ घोषणामै सीमित भयो । अहिले यसको ‘च्याप्टर’ नै क्लोज भइसकेको बताइन्छ ।

सोही होटलमा २०७९ माघ ३ गते चलचित्र ‘सिड्नी’को निर्माण घोषणा गरिएको थियो । २०८० को बैशाखबाटै छायांकन सुरु गर्ने भनिएको सिनेमाको मुख्य भूमिकामा सविन श्रेष्ठ र रीमा विश्वकर्माको अभिनय रहने जानकारी गराइएको थियो । देवकुमार श्रेष्ठले निर्देशन गर्ने ‘सिड्नी’को २० प्रतिशत छायांकन नेपालमा र ८० प्रतिशत अष्ट्रेलियामा हुने जनाइएको थियो । तर, अब यो चलचित्र बन्नेमै आशंका छ ।

दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णमा घोषणा भएका दुई चलचित्र ‘रानी महल’ र ‘कस्मिक लभ’ भने छायांकनमा निस्किएर पनि अलपत्र परे । निर्माताबीचको मनमुटावका कारण यी दुवै सिनेमा केही प्रतिशत छायांकनमै रोकिन पुगे ।

‘रानी महल’ बाट पूर्व मिस नेपाल निकिता चण्डक चलचित्र क्षेत्रमा प्रवेश गर्ने तयारीमा थिइन् । तर, यो चलचित्रको छायांकन रोकिएपछि निकिताले चलचित्र ‘साङ्लो’मा काम गरिन् । यो चलचित्रका लागि निर्माताले २ करोड सके । तर, चलचित्रको छायांकन २० प्रतिशत मात्र भयो ।

यता, ‘कस्मिक लभ’को पनि भव्य रुपमा घोषणाभएसँगै कलाकारद्वय प्रशान्त ताम्राकार र दीया मास्केको ‘कोया कटरको’ बोलको एउटा गीत छायांकन गरेर सार्वजनिक पनि गरियो । तर, चलचित्र पुरा हुन सकेन ।

यसरी असफलताको अर्को उदाहरण हो गत वर्ष दरबारमार्गस्थित होटल याक एन्ड यतिमा घोषणा गरिएको चलचित्र ‘राजमहल’। आँचल शर्मा, रमेश उप्रेती, सरोज खनाल, सलोन बस्नेतलगायत कलाकार अनुबन्धित यो सिनेमाको छायांकन अष्ट्रेलिया, न्यूजिल्याण्ड र नेपालमा हुने भनिएको थियो । तर, घोषणा भएको एक वर्ष बितिसक्दा पनि ‘राजमहल’ निर्माणको कुनै संकेत देखिएको छैन । अहिले यो चलचित्र अब बन्ने सम्भावना न्यून छ ।

निर्देशक सविनकुमार तोलाङ्गीको निर्देशनमा बन्ने भनिएको यो ‘राजमहल’को घोषणादेखि कलाकार सम्झौतासम्म करिब ५० लाख रुपैयाँ खर्च भइसकेको छ । तर, चलचित्र नै निर्माण हुन नसक्दा त्यो रकम व्यर्थ भएको छ ।

पाँचतारे होटलमा घोषणा हुने चलचित्र निर्माण हुन नसक्नुको मुख्य कारण उत्पादन प्रक्रियामा आएको आर्थिक संकट हो । महंगा लोकेसन, तामझाम र ठूला बजेटका कारण यस्ता चलचित्र प्रायः अधुरै रहन्छन् । फलस्वरूप निर्माताहरु सामाजिक सञ्जालमार्फत चलचित्र घोषणा गर्न रुचि राख्न थालेका छन् । पछिल्लो समय सामाजिक सञ्जालबाट घोषणा भएका चलचित्रहरुले राम्रो व्यापार गरिरहेको देखिन्छ ।

पाँचतारे होटलमा चलचित्रको घोषणा गरेपछि बजारमा ठूलो हल्ला हुन्छ भन्ने भ्रम कतिपय निर्मातामा छ । यसैले ठूलो खर्च गरेर तामझामका साथ सिनेमाको घोषणा गर्छन् । तर,घोषणापछि एकाएक सेलाउँछन् । यसले पाँचतारे होटललाई नेपाली चलचित्र क्षेत्रका लागि ‘अनलक्की’ सावित गरेको छ ।

तामझाम ठूलो कुरा होइन । सिनेमा बन्नु चाहिँ महत्वपूर्ण कुरा हो । यसमा पनि राम्रो चलचित्र बन्नु अझ महत्वपूर्ण कुरा हो । सिनेमा घोषणा हुनु तर नबन्नु भनेको प्रोपर प्रोडक्सनको म्यानेज हुन नसक्नु हो । दूरदर्शी योजनाको अभाव हो । यसमा निर्माता सचेत हुन आवश्यक छ । होइन भने सिनेमा निर्माण बीचमै अलपत्र हुने सम्भावना उच्च हुन्छ जुन समस्या देखिसकेको छ ।