चलचित्र चल्ने मौसम हुँदैन, साइत हेरेर दर्शक हल जाँदैनन्

‘तेल भिसा’ रिलिज भएयता कुनै ठूलो लगानी र प्रचारप्रसार पर्याप्त गरिएका चलचित्र थिएटरमा आएका छैनन् । अहिले नेपाली चलचित्र हेर्न चाहे पनि दर्शकले पाउँदैनन् ।
यो बीचमा केही चलचित्र आए पनि सायद ती चलचित्रमा तीनका निर्माता र निर्देशकलाई नै भरोसा थिएन । उनीहरूले बिनाप्रचार अथवा आफ्नो सिनेमा चलाउन जति दौडधुप आवश्यक पर्छ त्यो नगरेको देख्दा उनीहरूलाई आफ्नै चलचित्र र काममा भरोसा थिएन भन्ने पुष्टि हुन्छ ।
थिएटरमा चलचित्र छैनन्, तर निर्माता आफ्नो चलचित्र हल रित्तै हुँदा पनि प्रदर्शनमा ल्याइरहेका छैनन् । यसको कारण जाडो महिनामा चलचित्र चल्दैनन् भन्ने धेरैमा विश्वास छ । जाडोमा दर्शक हलमा जाँदैनन् त्यसैले चलचित्रले राम्रो बिजनेस गर्दैनन् भन्ने निर्माता र निर्देशकमा विश्वास छ । यही नै अहिले थिएटर खाली हुनुको मुख्य कारण हो ।
यो विश्वास हो कि अन्धविश्वास भनेर सोच्ने बेला भइसकेको छ । चलचित्र हेर्ने पनि मौसम हुन्छ ? जाडोमा नहेर्ने, गर्मीमा हेर्ने, बिहान र बेलुका हेर्ने अथवा नहेर्ने, दिउँसो हेर्ने अथवा नहेर्ने भन्ने हुँदैन ।
गर्मी महिनामा प्रदर्शनमा आएका सबै चलचित्र बिजनेसमा सफल भएका छैनन् । अधिकांशले लगानी उठाउँदैनन् । जाडोमा प्रदर्शनमा आएका पनि सबै चलचित्र बिजनेसमा असफल भएका छैनन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ बिहान ४ बजे हेरिएको थियो । मध्येराति १२ बजे पनि शो थियो । राति १२ बजे र बिहान ४ बजेको शो मा पनि टिकट पाउने अवस्था थिएन । यसले राति होस् वा दिउँसो, बिहान होस् वा बेलुका जति बेला भए पनि चलचित्र चल्छ भन्ने पुष्टि गर्छ । साइत हेरेर दर्शक चलचित्र हेर्न जाँदैनन् ।
गत वर्ष ‘एनिमल’ प्रदर्शनमा आउँदा पनि जाडो नै थियो । बिहान बेलुकाको चर्को ठण्डीमै नेपाली दर्शकले ‘एनिमल’ हेरेका थिए । पानी पर्ने असार–साउनमा चलेका चलचित्रले पनि राम्रो बिजनेस गरेका छन् ।
थिएटर सुविधासम्पन्न भइसके । मल्टिप्लेक्समा जाडोमा गर्मी बनाउने र गर्मीमा सितल बनाउने एयर कन्डिसन हुन्छ । सिंगल थिएटर बन्द भइसकेका छन् ।
चर्को घाम र चिसोमा घण्टौं उभिएर टिकट काट्नु पर्दैन । घरमै बसेर तीन दिन पछाडिको टिकट काट्न पाइन्छ । त्यसैले मौसमले चलचित्र हेर्न दर्शकलाई करिबकरिब छेक्दैन ।
चलचित्र हेर्ने मौसम अथवा सिजन हुँदैन । राम्रो चलचित्र भए जुनसुकै महिना र दिन रिलिज गरे पनि चल्छ । दर्शकले हेर्छन् । राम्रो चलचित्र भए दसैँ र तिहार नै कुर्नु पर्दैन । वैशाख १ र शिवरात्री र तीज कुर्नु पर्दैन ।
राम्रो चलचित्र बनेको छ भन्ने भरोसा हुने निर्देशक र निर्माताले जहिले चलचित्र प्रदर्शन गरे पनि चल्छ । एकै दिन तीन/चारवटा चलचित्रसँग भिड्नुभन्दा सिंगल रिलिज गर्दा फाइदा हुन्छ । यसका लागि निर्माता, निर्देशक र वितरकलाई आफ्नो चलचित्रप्रति भरोसा हुनुपर्छ । अन्धविश्वास होइन विश्वास हुनुपर्छ । चलचित्र चलचित्र मौसमले होइन उसमा रहेको क्वालिटीले चल्छ भन्ने आत्मविश्वास हुनुपर्छ ।