‘स्त्री-२’को सफलताबाट हौसिएका निर्मताले गरे एकैपटक ८ नयाँ चलचित्र बनाउने घोषणा

काठमाडौं ।  बलिउड विजनको म्याडक फिल्म्सले हरर कमेडी विधालाई थप अगाडि बढाउँदै एकैपटक ८ नयाँ चलचित्र निर्माण गर्ने ठूलो घोषणा गरेको छ ।

निर्माता दिनेश विजनको म्याडक फिल्म्सले भारतीय चलचित्र उद्योगमा हरर कमेडीको नयाँ आयाम स्थापित गर्ने उद्देश्यका साथ ८ वटा नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् ।

‘स्त्री-२’ को सफलतापछि हरर कमेडीको क्षेत्रमा आफूलाई स्थापित गर्न म्याडक फिल्म्सले यी चलचित्रहरूको घोषणा गरेको हो । यो निर्माण कम्पनीले यसअघि स्त्री, भेडिया र अन्य केही सफल चलचित्र रिलिज गरिसकेको छ । यी चलचित्रले दर्शकको राम्रो माया पाएपछि निर्माताले हरर विधालाई अझै ठूलो बनाउन ८ नयाँ चलचित्र निर्माण गर्ने योजना अघि सारेका हुन् ।

म्याडक फिल्म्सले आफ्नो सफल चलचित्र ‘स्त्री-२’ लगायतका परियोजनाबाट प्रेरित हुँदै हरर कमेडी चलचित्रहरूमा दर्शकको बढ्दो चासोलाई ध्यानमा राख्दै थप चलचित्रहरु निर्माण गर्न लागेको बताइएको छ ।

यसअघि म्याडक फिल्म्सले हरर कमेडी ब्रह्माण्डमा आधारित ‘स्त्री’, ‘भेडिया’, ‘मुन्ज्या’ र ‘स्त्रीः२’ जस्ता ब्लकबस्टर चलचित्रहरु निर्माण गरिसकेको छ ।

निर्माता दिनेश विजनले भनेका छन्, “हरर र कमेडीलाई एकसाथ मिलाउँदै हामी दर्शकहरूलाई नयाँ अनुभव दिन चाहन्छौं । यी चलचित्रहरूसँग बलिउडमा नयाँ अध्याय सुरु हुनेछ ।”

म्याडक फिल्म्सले घोषणा गरेको यी नयाँ सिनेमाहरूले २०२८ सम्म दर्शकलाई मनोरञ्जन प्रदान गर्ने लक्ष्य राखेको छ । स्टुडियोका अनुसार यी सबै फिल्म एकअर्कासँग परस्पर जोडिएका हुनेछन् ।

यस वर्षको दीपावलीमा आयुष्मान खुराना र रश्मिका मन्डन्नाको मुख्य भूमिका रहेको चलचित्र ‘थाम’ रिलिज हुनेछ । यो सिनेमा म्याडक फिल्म्सको नयाँ ब्रह्माण्डको पहिलो प्रस्तुति हुनेछ ।

म्याडक फिल्म्सले निर्माण गर्न लागेको यो हरर कमेडी ब्रह्माण्ड २०२८ मा रिलिज हुने दुई ठूला चलचित्र ‘पहला महायुद्ध’ र ‘दुसरा महायुद्ध’सँग समाप्त हुने घोषणा गरिएको छ । यी सिनेमाहरूलाई हलिउडको चर्चित ‘एभेन्जर्स’ जस्तो ढंगले प्रस्तुत गर्ने योजना बनाइएको छ ।

यस घोषणाले भारतीय सिनेमा उद्योगमा नयाँ ऊर्जा थप्नुका साथै बलिउड दर्शकहरूलाई थप रोचक र फरक अनुभव दिने विश्वास गरिएको छ ।

नयाँ सिनेमाहरूको सूची र रिलिज मिति
थाम – दीपावली २०२५
शक्ति शालिनी – ३१ डिसेम्बर २०२५
भेडिया २ – १४ अगस्त २०२६
चामुण्डा – २ डिसेम्बर २०२७
स्त्री ३ – १३ अगस्त २०२७
महामुन्ज्या – २४ डिसेम्बर २०२७
पहला महायुद्ध – ११ अगस्त २०२८
दुसरा महायुद्ध – १८ अक्टोबर २०२८