टंक बुढाथोकीको चलचित्रका मुख्य कलाकारको ‘लाइनअप’ सार्वजनिक

काठमाडौं। गायक तथा संगीतकार टंक बुढाथोकीको निर्देशन र निर्माणमा बन्न लागेको चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा मुख्य कलाकारहरूको नाम (लाइनअप) सार्वजनिक गरिएको छ।
यो चलचित्रमा बाल गायक अशोक दर्जी मुख्य भूमिकामा रहनेछन् । दर्जीसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ र साम्राज्ञी थापाले अभिनय गर्ने पक्का भएको छ । निर्देशक बुढाथोकीका अनुसार अन्य केही प्रमुख कलाकारहरूको छनोट प्रक्रिया जारी छ र छिट्टै टुंगो लगाइनेछ ।
चलचित्रको कथा टंक बुढाथोकी आफैंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका छन् । चलचित्र छायांकनको जिम्मा सौरभ लामाले लिनेछन् । सामाजिक विषयवस्तुमा आधारित यो चलचित्रलाई बैंकटेश इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ ।
अशोक दर्जीले पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मार्फत चर्चा कमाएका थिए । गीतमा टंक बुढाथोकीको संगीत रहेको थियो, जसले अशोकको जीवनमा ठूलो परिवर्तन ल्यायो । हाल काठमाडौंमा कक्षा ८ मा अध्ययनरत अशोक दर्जीलाई टंक बुढाथोकीले अभिभावकत्व प्रदान गर्दै अध्ययनको अवसर दिएका छन् ।
चलचित्र छिट्टै फ्लोरमा जाने तयारीमा छ । बुढाथोकीले यस चलचित्रमा पनि आफ्नै संगीत रहने जानकारी दिएका छन् ।