के छ ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टरमा ?

काठमाडौं । आगामी माघ २५ गते प्रदर्शनमा आउने चलचित्र ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।

बाल विवाह तथा महिला हिंसा विरुद्ध सचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको यो सिनेमाको सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरू अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई प्रस्तुत गरिएको छ ।

पोस्टरमा अस्मितालाई सन्तान काखमा बोकेर निराश मुद्रामा देखाइएको छ भने कृष्णलाई दौरा सुरुवाल र टोपीमा कर्के नजरसहित रिसाएको भावमा प्रस्तुत गरिएको छ ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रा.लि. को ब्यानरमा निर्माण भएको यो सिनेमाको निर्देशन जीवन सेञ्चुरीले गरेका हुन् ।

चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धितालसहित देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपाने को अभिनय रहेको छ । निर्देशक सेञ्चुरीका अनुसार, फिल्मले “बाल विवाह सामाजिक अपराध हो, यसलाई अन्त्य गरौं” भन्ने नारा बोकेको छ । नेपाली समाजमा महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, छाउपडी प्रथा लगायतका कुप्रथाको अन्त्य गर्न फिल्मले महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ ।

पर्वतको सालिजा ओख्रेनी क्षेत्रमा छायांकन गरिएको यो फिल्ममा दीपकप्रसाद घिमिरे को लगानी रहेको छ । फिल्मको कथा राजबहादुर सानेले लेखेका छन् ।

संगीतमा बीबी अनुरागी र रमेश सेञ्चुरी, शब्दमा जीवन सेञ्चुरी र भीमबहादुर पौडेल, तथा स्वरमा अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीले योगदान दिएका छन् । चलचित्रको छायांकन रामेश्वर हुमागाईंले गरेका हुन् ।

यो चलचित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, लेखक तथा समालोचकहरूले हेरेर प्रशंसा गरिसकेका छन् ।

चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।