यस्तो छ हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’को ट्रेलर

काठमाडौं । हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक भएको छ ।
माघ ४ गते प्रदर्शनमा आउने सिनेमाको सोमबार एक कार्यक्रमको आयोजना गर्दै झन्डै तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले यस चलचित्रको कथावस्तु, पात्र र प्रस्तुतीकरणबारे झलक देखाएको छ ।
नविन भट्टले निर्देशन गरेको ‘फिरफिरे फिरिरी’को कथा गाउँघरमा विभिन्न पेशा अंगालेका चार युवकहरूको वरिपरि घुम्छ, जसको जीवनमा एक युवतीको आगमनसँगै हास्यप्रधान परिस्थितिहरू सिर्जना हुन्छन् ।
ट्रेलर हेर्दा चलचित्रले दर्शकलाई हररको मनोरञ्जन र रोमाञ्चकताको नयाँ स्वाद दिने सम्भावना देखिन्छ । यो सिनेमाको ट्यागलाइन ‘आज साइकल, भोलि फरारी’ रहेको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा यस सिनेमाका निर्माता समेत रहेका कलाकार मनोजकुमार अधिकारीले चलचित्र फरक कथा र नौलो शैलीमा निर्माण गरिएको जानकारी दिए ।
चलचित्रमा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, र पुष्प अवस्थीको अभिनय रहेको छ ।
यो चलचित्रको कथा निर्देशक नविन भट्ट र सन्दीप श्रेष्ठले मिलेर लेखेका हुन् । सिनेमाको छायांकन जितु तामाङले गरेका छन् भने केशवराज भट्टले कोरियोग्राफी, प्रशान्त शिवाकोटीले संगीत र अनन्त घिमिरेले सम्पादन गरेका छन् ।
‘फिरफिरे फिरिरी’ बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको हो । यसको वितरण आरआर फिल्म्सले गर्नेछ ।