प्रियंका भन्छिन्- आफूले अभिनय गरेका हरर चलचित्रले दर्शकलाई तर्साउनै सकेनन्

काठमाडौं। अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको हरर चलचित्र ‘ममी’ आगामी माघ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । यो सिनेमाकोको केन्द्रीय पात्रको रूपमा प्रियंका प्रस्तुत भएकी छिन् ।

चलचित्र ‘ममी’ प्रियंकाको पहिलो हरर फिल्म भने होइन । यसअघि उनले ‘ची मुसी ची’, ‘माला’ र सर्ट फिल्म ‘किचकंडी’ जस्ता हरर सिनेमाहरूमा अभिनय गरिसकेकी छन् । यद्यपि, ती चलचित्रबाट दर्शकलाई पर्याप्त रूपमा तर्साउन नसकेको भन्दै उनले आत्मआलोचना गरेकी छिन् ।

सोमबार आयोजित ‘ममी’को गीत सार्वजनिक कार्यक्रममा प्रियंकाले आफूले अभिनय गरेका हरर चलचित्रहरूले दर्शकलाई डराउन नसकेको स्वीकार गरिन् । उनले भनिन्, “मैले धेरै हरर सिनेमामा काम गरेँ । तर, ती चलचित्र हलमा हेर्दा मलाई नै डर लाग्दैनथ्यो । हरर सिनेमाले दर्शकलाई डर पैदा गर्नसक्नुपर्छ । नत्र कलाकारको प्रतिष्ठा नै खराब हुन्छ ।”

प्रियंकाका अनुसार स्क्रिप्ट राम्रो भए पनि छायांकन, भीएफएक्स र साउन्डमा कमीकमजोरीका कारण चलचित्र कमजोर बन्ने गरेको बताइन् ।

उनले ‘ममी’ फिल्ममा आफ्ना विगतका अनुभवलाई आधार मानेर निर्देशक सरम निरौलालाई छायांकन, भीएफएक्स र साउन्डमा विशेष ध्यान दिन आग्रह गरेकी छिन् । उनले डराउनुपर्ने दृश्यमा दर्शक नहाँसून् भनेर पनि निर्देशकलाई सजग गराएको बताइन् ।

प्रियंकाले भनिन्, “हरर चलचित्रमा दर्शक तर्सिनुपर्छ । यसपटक मैले समरलाई विशेष ध्यान दिनुपर्छ भनेर बारम्बार भनेकी छु । डराउने दृश्यमा दर्शक हाँस्नु भएन ।”

कार्यक्रममा प्रियंकाले आफूलाई भूतभन्दा मानिसहरूसँग डर लाग्ने बताइन् । उनले भनिन्, “भूतहरूसँग त मलाई डर लाग्दैन। बरु, उनीहरूसँग बसेर गफ गरेर साथी बनाउँछु जस्तो लाग्छ। तर, मानिसहरूको सोच र व्यवहारले डर लाग्छ।”

उनले ‘माला’लाई आफूले गरेको उत्कृष्ट हरर चलचित्र भएको बताइन् ।

हरर चलचित्र ‘ममी’ ले प्रियंका कार्कीका लागि विगतका कमजोरीलाई सुधार्दै दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । यो सिनेमाले नेपाली हरर जनरामा नयाँ उचाइ स्थापित गर्न सक्छ कि भन्ने कुराको उत्तर भने प्रदर्शनपछि मात्र थाहा हुनेछ ।