‘दुखी आत्मा’को टिजरमा शारीरिक रूपमा कमजोर दयाहाङ

काठमाडौं । चलचित्र ‘दुखी आत्मा’को टिजर सार्वजनिक भएको छ ।
सार्वजनिक भएको टिजरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र नायिका आँचल शर्मा छन् । चलचित्रले एडल्ट विषयवस्तु समेटेको छ ।
टिजरमा कविको प्रेममा परेकी युवती छिन् । होटेलमा मध्यरातमा दुईजना मात्रै छन् । तर, कवि शारीरिक रुपमा असक्षम छ । त्यसैले ऊ यसको तनावमा छ ।
सार्वजनिक टिजरमा आँचलको पात्रले कामुक हाउभाउ प्रस्तुत गर्दा दयाहाङको पात्र इरेक्टाइल डिसफंक्शन अर्थात् नपुंसकता (सम्भोगको क्रममा उत्तेजना नहुनु) समस्याबाट पीडित देखिन्छ ।
प्रेम दिवसको अवसर पारेर फागुनको २ गतेबाट रिलिजमा आउन लागेको चलचित्र एडल्ट ड्रामा हो । चलचित्रमा द्विअर्थी लाग्ने संवाद छन् ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हिमाल कडरियाको लगानी छ । सुदीप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रमा अनुप विक्रम शाही, वुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ ।