प्रकाश र परीक्षाले सुरु गरे ‘सोल्टिनी’को छायांकन

काठमाडौं । चलचित्र ‘सोल्टिनी’को छायांकन मंगलबारबाट सुरु भएको छ । इलामको रोङस्थित सानो पाथीभरा मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन औपचारिक रूपमा सुरु गरिएको हो ।

निर्देशक अर्जुन सुवेदीका अनुसार ‘सोल्टिनी’को छायांकन ३१ दिनभित्र सम्पन्न गर्ने योजना छ । चलचित्रको छायांकन इलाम र भोजपुरका रमणीय प्राकृतिक स्थलहरूमा गरिने निर्माण पक्षले जनाएकको छ ।

चलचित्रमा अभिनेता प्रकाश सपुत र अभिनेत्रीहरू परीक्षा लिम्बु तथा सब्बु गुरुङ प्रमुख भूमिकामा देखिनेछन् । शुभारम्भको दिन मन्दिर परिसरमै कलाकारहरूले पहिलो महत्त्वपूर्ण शट दिएका थिए ।

चलचित्रमा प्रकाश सपूत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडा देखिनेछन् ।

चलचित्रमा प्रकाश सपूतले ‘भीमसेन पोखरेल’ र परीक्षा लिम्बुले ‘दिलासा राई’को भूमिका निर्वाह गर्दैछन् । यो जोडी पहिलो पटक पर्दामा सँगै देखिन लागेको हो ।

‘सोल्टिनी’ले समाजमा व्याप्त जातीय विभेद र अमानवीयताका विरुद्ध सशक्त आवाज उठाउनेछ । साथै, दुई प्रमुख पात्रबीचको प्रेमकथा पनि चलचित्रको मुख्य आकर्षण रहनेछ ।

चलचित्रको संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले तयार पार्नेछन् भने छायांकन सुशन प्रजापतिले गर्नेछन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भइरहेको चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईं हुन् ।

चलचित्रको आरआर फिल्मस् प्रा.लि.ले नेपालमा तथा नेपसिनेले विदेशमा वितरण गर्ने योजना बनाएको छ ।

चलचित्र ‘सोल्टिनी’लाई २०८२ साल असोज ३ गते, संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।