चलचित्र संघ र निर्माता संघको सदस्यता नबनी सिनेमा रिलिज गर्न नपाइने

काठमाडौं । नेपाली चलचित्र रिलिज गर्न अब निर्माताले चलचित्र संघ र निर्माता संघको सदस्यता अनिवार्य रूपमा लिनै पर्ने भएको छ । यी दुई संघको सदस्यता नलिने निर्माताको चलचित्र रिलिज हुने छैन ।

निर्माता संघ र चलचित्र संघको आज बसेको कार्यदलको बैठकले सदस्यता लिने निर्माताको चलचित्र मात्रै रिलिज गर्ने निर्णय गरेको हो । निर्माता संघका तर्फबाट कार्यदलको संयोजक उदय सुब्बा थिए भने चलचित्रको तर्फबाट कार्यदलको संयोजक गोपालकाजी कायस्थ थिए ।

सदस्यता लिँदाका फाइदा पनि रहेको निर्माता संघका तर्फबाट कार्यदलको संयोजक उदय सुब्बाले बताए । उनले १४ दिन सिनेमा हलले चलचित्रको हल ट्रेलर बिनापैसा बजाइदिने बताएका छन् । यस्तै बक्सअफिस कलेक्सन निर्माता र हलसञ्चालकले ५०/५० प्रतिशत पाउने बताए । यो नियम गत वर्षदेखि नै लागु भए पनि अब अनिवार्य लागु हुने बताए ।

निर्माता संघको सदस्यता लिन सुरुमा सात हजार लाग्छ भने वार्षिक तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।

हप्तामा दुईवटा मात्रै चलचित्र रिलिज गर्ने सम्बन्धमा भने सहमति नजुटेको उनले जानकारी दिए । क्यू सिस्टममा बस्दा लामो समय कुर्दा पनि पालो नआउने भन्दै यसबारे आगामी दिनमा छलफल गर्दै जाने उनले बताए ।