यस्तो छ ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर

काठमाडौं । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ ।

आगामी माघ ११ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ५ मिनेट १६ सेकेन्ड लामो यो ट्रेलरमा सिनेमाका मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठको कथामा आधारित दृश्यहरू देखाइएको छ ।

‘मिसिङः केटी हराएको सूचना’को ट्रेलरमा नाजिर र सृष्टिबीच सामाजिक सञ्जालमार्फत भेट भएको र त्यसपछि उनीहरू यात्रामा निस्कँदा भोग्ने उतारचढावलाई प्रस्तुत गरिएको छ । यस सिनेमाले पहाडी–मधेशी बीचको मेलमिलापको खोजी गर्ने सन्देश दिएको देखिन्छ ।

चलचित्रमा नाजिरले रामको भूमिका निभाएका छन् भने सृष्टिले सीताको । ट्रेलरमा केही दिनअघि सार्वजनिक गरिएको गीत ‘सपनीमा’का दृश्यलाई पनि समेटिएको छ ।

ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्देशक ३२ वर्षअघि चर्चित डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचन हुन् । गौचनले यसअघि ‘हाम्रो मुमिन’ जस्ता डकु-ड्रामा पनि निर्देशन गरिसकेका छन् ।

चलचित्रमा दीपेन्द्रकै कथा र लेखन रहेको छ भने स्क्रिप्ट सुपरभिजन अमित पोखरेलले गरेका छन् । सिनेमामा दीपेन्द्र गौचन, अमितेष शाह, र करुण थापाले गीतको शब्द लेखेका छन् ।

सिनेमामा नाजिर हुसेन र सृष्टि श्रेष्ठका साथै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललिता देवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, र ओमप्रकाश कर्णको अभिनय रहेको छ ।चलचित्रको विशेष भूमिकामा अमितेष शाह देखिनेछन् ।

सिनेमामा अमर महर्जन (डीओपी), निमेष श्रेष्ठ (सम्पादन), शंकर महर्जन (द्वन्द्व), र रामजी लामिछाने तथा राजीव कर्ण (कोरियोग्राफी) रहेका छन् । संगीत दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको रहेको छ भने स्वर सितुसित बस्नेत, रोहित जोन क्षेत्री, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको छ।

यो सिनेमामालाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

‘मिसिङः केटी हराएको सूचना’ ले नेपाली चलचित्र क्षेत्रलाई नयाँ कथा र प्रस्तुतिमा फरक अनुभव दिने अपेक्षा गरिएको छ ।