‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक, देखिए सिम्रन, हेना र समा

काठमाडौं । चर्चित नेपाली चलचित्र ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । फागुन २३ गते प्रदर्शन मिति तय गरिएको यस चलचित्रको पोस्टरमा प्रमुख कलाकारहरूलाई समेटिएको छ।

पहिलो पोस्टरमा आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि र पदम तामाङलाई रमाइलो मुद्रामा प्रस्तुत गरिएको थियो भने दोस्रो पोस्टरमा यी कलाकारहरूसँगै अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुलीलाई पनि समावेश गरिएको छ ।

‘होस्टेल ३’ ले क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । चलचित्र सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा निर्माण भएको हो । यसका निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने कार्यकारी निर्माता शङ्कर कोइराला छन् ।

चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ। अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, र यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन् ।

अर्जुन पोखरेल र अलमोडा राणा उप्रेतीको संगीत रहेको चलचित्रमा विकास दाहाल सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

नेपालमा मात्र नभई अन्य विभिन्न देशहरूमा पनि एकैसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ । नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन् ।

‘होस्टेल ३’ को निर्माण यसअघि प्रदर्शन भएका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ को सफलतापछि गरिएको हो । यो चलचित्रले युवा पुस्तामाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ। साथै, यो शृङ्खला नयाँ कलाकारहरूको उदयस्थलका रूपमा पनि चिनिएको छ ।