चलचित्र ‘सेतो सूर्य’ युट्युबमा (चलचित्रसहित)

काठमाडौं । दीपक रौनियार निर्देशित चलचित्र ‘सेतो सूर्य’ युट्युबमा रिलिज भएको छ । शुक्रबार बाँसुरी फिल्मसको युट्युब च्यानलबाट चलचित्र युट्युबमा रिलिज गरिएको हो ।
नौ वर्ष अगाडि २०७३ साल भदौ २१ गते ‘सेतो सूर्य’ सिनेमा घरमा रिलिज भएको थियो । समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको यो चलचित्रले धेरै इन्टरनेसनल फिल्म फेस्टिभल घुमेको थियो ।
नेपाली बक्सअफिसमा असफल भएको यो चलचित्रले भेनिस अन्तर्राष्ट्रिय सिनेमा महोत्सव, सिंगापुर अन्तर्राष्ट्रिय सिनेमा महोत्सव, टोरोन्टो अन्तर्राष्ट्रिय सिनेमा महोत्सव, बुसान सिनेमा महोत्सव, सिनेमा फोरम द साउथ, नर्वे तथा मामी मुम्बई सिनेमा महोत्सवमा पनि सहभागिता जनाएको थियो ।
सिनेमाको कथा माओवादी जनयुद्धताका नेपालको एक दुर्गम पहाडी गाउँमा मृत्यु भएका आफ्ना बाबुको अन्तिम संस्कारका लागि सामाजिक तथा राजनैतिक अवरोध उत्पन्न भएपछि उसको छोराले भोगेको समस्या तथा समाजसँग उसले गरेको विद्रोह यो चलचित्रको मुख्य कथा हो ।
चलचित्रमा दयाहाङ राई, आशा मगराती, रवीन्द्र सिंह बानियाँ, सुमी मल्ल, अमृत परियार, दीपक क्षेत्री, माओत्से गुरुङ, प्रमोद अग्रहरी, देशभक्त खनाललगायत कलाकारको अभिनय रहेको छ ।