गीतले मेरो करिअरमा ठूलो भूमिका खेलेको छ : स्वस्तिमा
काठमाडौं । नेपाली सिने उद्योगमा आफ्नो अभिनय कौशलका कारण लोकप्रिय स्वस्तिमा खड्काले आफ्नो करिअरमा गीतहरूको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् ।
शनिबार गायक प्रकाश सपूतको निर्देशनमा बनेको पहिलो चलचित्र ‘वसन्त’को ‘साँझ पर्यो झमक्क’ बोलको गीत सार्वजनिक कार्यक्रममा स्वस्तिमाले भनिन्, “सिनेमा चल्नका लागि गीतसंगीतको अत्यन्तै ठूलो भूमिका हुन्छ । राम्रो गीतले मात्र पनि दर्शकलाई आकर्षित गर्न सक्छ ।”
स्वस्तिमाका अनुसार, कुनै पनि चलचित्र सफल बनाउने क्रममा त्यसमा समावेश भएका गीतहरूले निर्णायक भूमिका खेल्छन् । उनले थपिन्, “गीत चल्ने वित्तिकै कलाकारहरू पनि दर्शकको रोजाइमा पर्छन् । मेरो करिअरमा पनि धेरै गीतहरूले ठूलो प्रभाव पारेका छन् । ‘कुटुमा कुटु’ देखि ‘उडायो मन’सम्म जस्ता हिट गीतहरू आज पनि दर्शकको मनमा ताजै छन् ।”
उनले आफ्नो व्यक्तिगत अनुभवका आधारमा भनेकी छिन् कि राम्रा गीतहरूले चलचित्रको प्रचारप्रसारलाई सहज बनाउनुका साथै चलचित्रप्रति दर्शकको उत्साह बढाउँछ ।
स्वस्तिमा अहिले चलचित्र ‘वसन्त’को प्रचार प्रसारमा छिन् । उनले चलचित्रका गीतहरूको तयारीमा विशेष ध्यान दिएको जानकारी दिएकी छिन् । “दर्शकलाई याद रहनसक्ने खालका गीतहरू ल्याउन पाउने अवसर मेरो लागि विशेष छ । यस्ता गीतहरूले न केवल चलचित्रको सफलता सुनिश्चित गर्छन्, कलाकारको व्यक्तित्व निर्माणमा पनि सघाउँछन्,” उनले भनिन् ।
‘वसन्त’ प्रकाशको लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीत रहेको चलचित्र हो । यो सिनेमा चैत २२ गते रिलिज हुनेछ । उनका यअघिका सिनेमा र गीतका कारण यो सिनेमाबाट धेरैले अपेक्षा राखेका छन् ।
‘वसन्त’मा प्रकाशसँगै अभिनेत्री स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभान्सी, उर्मिला लाम्गादेलगायतका कलाकारको अभिनय छ ।
गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको सिनेमामा मोहन विश्वकर्मा र विन्दू बोहरा निर्माता छन् । कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ रहेका छन् । मुख्य सहायक निर्देशक सुनील बिक हुन् । ‘वसन्त’ प्रकाशको डेब्यु निर्देशन हो ।
प्रकाश सपूतको डेब्यु सिनेमा ‘परदेशी–२’ सुपरहिट भएको थियो । हालै प्रदर्शनमा आएको दोस्रो सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले पनि कीर्तिमानी व्यापार गरेको थियो । उनले निर्देशनमा पनि हात हालेका छन् । उनको ‘वसन्त’ डेब्यु निर्देशन हो ।