चलचित्र विकास बोर्डद्वारा ९७ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा २० वर्षभन्दा बढी योगदान दिएका ९७ जना चलचित्रकर्मीलाई आज चलचित्र विकास बोर्डले विशेष कार्यक्रम आयोजना गरी चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ ।
चलचित्र विकास बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीहरूलाई परिचयपत्र प्रदान गरे ।
कार्यक्रमका अवसरमा अध्यक्ष डिसीले परिचयपत्र वितरण कार्यक्रम चलचित्रकर्मीहरूको पहिचान, सुरक्षा, र सम्मान सुनिश्चित गर्न महत्वपूर्ण कदम भएको बताए। “यो कदमले चलचित्रकर्मीको पेशागत परिचयलाई औपचारिक मान्यता दिँदै उनीहरूको अधिकार र सुविधामा सहज पहुँच दिलाउनेछ,” उनले भने ।
परिचयपत्र वितरण कार्यक्रमले चलचित्रकर्मीहरूलाई पेशागत पहिचान मात्र होइन, कानुनी सुरक्षा, सरकारी सेवा, र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वको अवसर पनि प्रदान गर्ने लक्ष्य राखेको छ । यसले चलचित्रकर्मीहरूको डाटाबेस निर्माण गर्न सहयोग पुग्ने र चलचित्र उद्योगको व्यवस्थापनलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
चलचित्रकर्मीहरूको सामाजिक सम्मान वृद्धि, फिल्म निर्माण तथा सुटिङका लागि सहजीकरण, र सामाजिक सुरक्षा योजनामा सहभागी गराउने पहलका लागि परिचयपत्र महत्त्वपूर्ण मानिन्छ । साथै, यसले नेपालको सांस्कृतिक संरक्षण र प्रचारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी चलचित्रकर्मीहरूले पनि परिचयपत्र प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले आफ्नो पेशागत पहिचान र सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। कार्डमा क्युआर सहितको डिजाईन गरिएकोले यसको विश्वशनीयता अझ बढि हुने विश्वास गरिएको छ । बोर्डले प्रत्येक बर्ष विशिष्ट चलचित्रकर्मि, चलचित्रकर्मि, विषेश चलचित्रकर्मि र मानार्थ चलचित्रकर्मि शिर्षकमा परिचयपत्र प्रदान गर्ने गरेको छ । परिचय पत्र प्राप्त गर्नको लागि चलचित्रकर्मिले बोर्डले आवेदन खुलाएको समयमा आवेदन दिनुपर्नेछ ।