अपेक्षा बढाउने र हाइप बनाउने ‘पिताम्बर’को टिजर

काठमाडौं । नेपाली चलचित्रमा सधैँ खड्किने एउटै कुरा हो, भब्य क्यानभास । बिरलै चलचित्र भब्य क्यानभासमा खिचिन्छन् । ठूलो सेट बनाएर कमै चलचित्र खिचिन्छ, जुन पर्दामा देखिन्छ । सिनेमाको कथाले ठूलो क्यानभास र सेट खोज्ने तर निर्माताले उपलब्ध नगराउने देखिँदै आएको छ ।
यो अभाव ‘पिताम्बर’मा देखिँदैन । पिताम्बरको टिजरमा भब्य क्यानभास देखिएको छ । टिजरमा सेट लगाएर चलचित्र खिचिएको देखिन्छ । प्रप्स र सेटले एक्सन सिनेमामा हुनुपर्ने भब्यता अथवा रिचनेस टिजरमा देखिएको छ ।
कलरले टिजरलाई थप बलियो बनाएको छ । कलर कम्बिनेसन, सट डिजाइन र सटको कम्पोज गज्जवको देखिएको छ । एक्सन सिनेमाको कलर र रङ संयोजन म्याच हुँदा टिजर थप राम्रो देखिएको छ ।
क्यामेरा वर्क गज्जव देखिँदा ‘पिताम्बर’को टिजरलाई राम्रो भन्न सकिन्छ । एक्सन सिनलाई भब्य देखाउन निर्देशकले कुनै कसर बाँकी छोडेको देखिएको छैन । कलाकारले पनि एक्सन सिनका लागि मेहनत गरेको टिजरमा देखिन्छ ।
एक्सन जनरा आफैमा महँगो जनरा हो । यसका वावजुद निर्माता र निर्देशकले लगानी बढ्ने जोखिका बीच राम्रो काम गरेको टिजरले देखाएको छ ।
डाइलग र ब्याकग्राउन्डस्कोरमा भने दृश्यमा जति मेहनत देखिँदैन । यसका लागि सच्याउने समय निर्देशकसँग प्रशस्त छ । सिंक साउन्ड नभएर डबिङ भएकाले डाइलग डेलिभरीमा काम गर्न समय छ । ब्याकग्राउन्डस्कोरको काम बाँकी नै रहेकाले यसमा काम गर्न चहाने हो भने समय अभाव हुनेछैन ।
तर, ट्रेलर कस्तो आउँछ, कमर्सियल चलचित्र हो गीत कस्तो आउँछ, चलचित्रको कथा कस्तो छ त्यो महत्वको कुरा हो । ट्रेलर कस्तो आउँछ त्यसले सिनेमाको हाइप निर्धारण गर्नेछ ।
टिजर र ट्रेलर राम्रो काट्ने तर सिनेमामा आकर्षक केही राम्रो नहुने पनि थुप्रै सिनेमा देखिएका छन् । ट्रेलरमै राम्रा फुटेज सकेर सिनेमा हेर्दा फिका देखिएका प्रशस्तै चलचित्र छन् । यसमा निर्माणपक्षले ख्याल गर्नुपर्नेछ ।
तर, टिजरले ट्रेलर कस्तो आउनेछ भनेर प्रतिक्षा बढाएको छ । ट्रेलर आउँदासम्म चलचित्रको हाइप बढ्नेछ । ट्रेलर पनि आयो भने सिनेमाको हाइपले बेग्लै उचाई ग्रहण गर्नेछ । ट्रेलर राम्रो भयो भने ग्याङस्टार सिनेमा हो इनिसियललाई दर्शकको खाँचो हुँदैन । कलाकारको लाइनअपले वर्ड अफ माउथका लागि पर्याप्त दर्शक पाउनेछ । वर्ड अफ माउथ राम्रो भयो भने ‘पिताम्बर’ चल्नलाई कसैले रोक्ने छैन ।
चलचित्र ‘पिताम्बर’मा केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायत कलाकारको अभिनय छ ।
विशाल चौलागाईं निर्माता रहेको चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् । पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद छ ।
पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन छ ।
‘पिताम्बर’ नयाँवर्ष २०८२ को अवसर पारेर चैत २९ गते रिलिज हुनेछ ।