‘महाराजधिराज’को फस्टलुकमा पल शाह ‘न्युड’

काठमाडौं । चलचित्र ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मङ्गलबार माघे संक्रान्तिको अवसर पारेर निर्माण पक्षले फस्टलुक सार्वजनिक गरेको हो ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लीको प्रस्तुति रहने चलचित्रको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ ।

पोस्टरमा दुई कलाकार छन् । एकजना राजर्सी पहिरनमा छन् । अर्का एक कलाकार न्युड छन् । शीरमा श्रीपेच, हातमा राजदण्ड बोकेर राजर्शी लुगामा रहेका व्यक्ति उभिएका छन् । उनी राजा हुन् भन्ने प्रष्ट छन् ।

उनको अगाडि एक व्यक्ति नग्न अवस्थामा कुर्षीमा बसिरहेका छन् । शारीरिक रुपमा उनी निकै कमजोर देखिएका छन् । दुवै पल शाह हुन् । यो तस्बिर भित्तामा फ्रेममा राखिएको जस्तो देखिन्छ । यसले आफ्ना दरसन्तानको सम्झनामा पछिल्लो पुस्ताले फ्रेमिङ गरेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, प्रष्ट छैन ।

यो फस्टलुकले समस्या आफैँमा रहेको झल्को देखिन्छ । ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ लेखिएको स्लोगनले व्यक्ति स्वयंमा समस्या रहेको संकेत गर्छ । राजा होस् वा नागरिक समस्या हरेक व्यक्तिमा छ भन्ने यो स्लोगन र पोस्टरले बताउँछन् ।

त्यसैले सिनेमाले पनि व्यक्ति हरेक व्यक्तिमा छ भन्ने कथा भन्ने अनुमान लगाउन सकिन्छ । फस्टलुक पोस्टरले बाँकी सामग्री ट्रेलरमा आउने बताएको छ ।

चलचित्रको फस्टलुक पोस्टरले दर्शकमा उत्सुकता जगाउने निश्चित छ । परिच्छेद सेनले निर्देशन गर्ने चलचित्रको कथा पनि उनी स्वयंले लेखेका छन् ।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए भने निर्देशक सेनले ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।

चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहेका छन् ।

यो चलचित्र पनि दसैँको फूलपातीमा आउने भएको छ । फूलपातीमा आउने सिनेमाको संख्या थपिँदै गएको छ ।