एक साता पछाडि सर्यो ‘ताण्डवम्’, अब फागुन ९ गते रिलिज हुने

काठमाडौं । चलचित्र ‘ताण्डवम्’ को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार माघे संक्रान्तिको अवसरमा सार्वजनिक गरिएको पोस्टरमा सिनेमा फागुन ९ गते बाट प्रदर्शनमा आउने जानकारी दिइएको छ ।
यसअघि भ्यालेनटाइन डे (प्रणय दिवस)लाई लक्षित गर्दै आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने भनिएको यो सिनेमा एक साता पछाडि सारिएको हो ।
जुनिम गहतराजको डेब्यु निर्देशनमा बनेको चलचित्रको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरू पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र निर्देशक स्वयं जुनिम गहतराज लाई देख्न सकिन्छ। यस चलचित्रमार्फत कलरिस्टको पहिचान बनाइसकेका जुनिमले निर्देशनमा डेब्यु गरेका हुन्। चलचित्रमा कमल कार्की र गोपाल कटुवाल को पनि विशेष अभिनय रहेको छ।
‘ताण्डवम्’ परिवार, धार्मिकता र एक्सन थ्रिलर जनरामा आधारित छ । नवविवाहित जोडीले आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा हुने अप्रत्याशित घटनाहरूलाई सिनेमा मार्फत प्रस्तुत गरिएको छ ।
निर्माण टिमका अनुसार चलचित्रको नामले झैँ यसमा धार्मिक कनेक्सन पनि जोडिएको छ । चलचित्र महाशिवरात्री नजिकै प्रदर्शन हुने भएकाले दर्शकहरूले यसलाई थप उत्साहका साथ हेर्ने अपेक्षा गरिएको छ ।
सिंहदेवी प्रोडक्सन को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।
हरि घले लामाको छायांकन रहेको चलचित्रमा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ ।
सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
निर्देशक जुनिम गहतराजले यसअघि ‘पानीफोटो’, ‘पशुपति प्रसाद २ : भष्मेडन’, ‘खुस्मा’, ‘चिसो मान्छे’ र ‘परस्त्री’ जस्ता चर्चित चलचित्रमा कलरिस्टको रूपमा काम गरिसकेका छन् । उनले कलर ग्रेडिङबाट निर्देशनमा प्रवेश गर्दै आफ्नो सृजनात्मकता प्रस्तुत गर्न खोजेका छन् ।