विकासको पहिलो गीत ‘मन’ सार्वजनिक

काठमाडौं । गायक विकास मानन्धरको पहिलो गीत ‘मन’को भिडियो सार्वजनिक भएको छ । गीतमा विकासकै शब्द र संगीत रहेको छ। यो गीत कोविद बज्रको बज्र क्रिएसन रेकर्डसमा रेकर्ड गरिएको हो ।
गीतको भिडियो विकास मानन्धरको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियोमा विकाससँगै सुबास सुनुवार, महेश मानन्धर र मनिष महर्जनले अभिनय गरेका छन् ।
भिडियोको निर्देशन, छायांकन र सम्पादन सरोजकुमार चौहानले गरेका छन् । रेनिस फागोले कलर ग्रेडिङ, राकेश दाहालले पब्लिसिटी डिजाइन र शिखा मानन्धरले डिजिटल ग्राफिक डिजाइनको जिम्मेवारी सम्हालेका छन् ।
गीतले मानव हृदयको चञ्चल र परिवर्तनशील स्वभावलाई आत्मीय रूपमा चित्रण गरेको गायक विकासले बताएका छन् । “गीतमा खुशी, दुःख, उत्साह र निराशाजस्ता भावनाहरूको यात्रा प्रस्तुत गरिएको छ । यसले मित्रताको सुन्दरता र त्यसबाट प्राप्त उर्जालाई देखाएको छ,” उनले भने।
भिडियोले दैनिक जीवनको थकानबाट आजित एक व्यक्तिको कथा प्रस्तुत गरेको छ । साथीहरूसँगको पुनर्मिलनले व्यक्तिलाई नयाँ उत्साह र आनन्दको अनुभव गराउँछ भन्ने सन्देश भिडियोले दिन्छ ।
नेपालको मकवानपुर, हेटौडाका विकास हाल अष्ट्रेलियाको ब्रिस्बेनमा बस्दै आएका छन् । गीत युट्युबसहित स्पोटिफाई, एप्पल म्युजिक, अमेजन, युट्युब म्युजिक, डीजर, टाइडल, प्यानडोरा, स्न्यापच्याट, टिकटक, र रोब्लक्सजस्ता विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध रहेको उनले जानकारी गराएका छन् ।
विकासका अनुसार गीतको अवधारणा एक दिनमै तयार भएको थियो भने म्युजिक भिडियो दुई दिनभित्र खिचिएको हो ।
गीतले नेपाली संगीतप्रेमीहरूलाई नयाँ उत्साह र मित्रताको महत्व झल्काउने अपेक्षा गरिएको छ ।